मंसूर अली इद्रिशी
नेपालगञ्ज मंसिर ११ गते-जानकी गाउँपालिका वडा नम्बर १ स्थित जोगागाउँमा सोमबारदेखि ऐतिहासिक मेला शुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा जानकी–२ जोगागाउँमा प्रत्येक वर्ष नहान मेला लाग्ने गर्दछ । विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने नहान मेलालाई सोमबार प्रदेशसभा सदस्य बादशाह कुर्मी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले उद्घाटन गर्नुभएको छ ।
उद्घाटनमा जानकी वडा नं २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नं १ का वडाअध्यक्ष मो.रजाराई मा.वि. जोगागाउँ विव्यसका अध्यक्ष रज्जब अली हल्वाई, मेला समितिका पदाधिकारीहरु, नागरिक समाजका अगुवाहरु, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।
पुरानो मेलाका रूपमा चिनिएका यी मेला हेर्न बाँके, बर्दियाका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् । ऐतिहासिक मेलाको संरक्षणका लागि जानकी गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको छ । आजदेखि सुरु भएको मेला तीन दिनसम्म सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।
मेला व्यवस्थापन समितिको आयोजनामा भएको मेलामा राती सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गरेको मेला आयोजकका अध्यक्ष करन बर्माले लिमरा खबरलाई जनाइएको छ ।