नरैनापुर मंसिर १ गते ।
नरैनापुर गेगलीमा बिहीबार कल्भर्टमुनि फेला परेको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ । मृतकको शव नेपालगञ्ज नरैनापुर वडा नम्बर ३ स्थित हुलाकी सडक खण्डमा पर्ने गेगली नजिक रहेको कल्भर्टको मुनि जमेको पानीमा डुबेको अवस्थामा बिहीबार दिउँसो प्रहरीले फेला परेको थियो ।
कल्भर्टमुनि फेला परेको उक्त शव भारतीय नागरिकको रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । उक्त शव भारतको श्रावस्ती जिल्ला मल्लिपुर थाना भगराका अन्दाजी ५० वर्षीय बिलाख निसादको रहेको रायमाझीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक रायमाझीका अनुसार उनी नरैनापुर वडा नम्बर २ बेलचहवास्थित आफ्नो छोरीको घरमा जान्छु भनी कार्तिक २८ गते दिउँसो २ बजेतिर घरबाट हिँडेका थिए तर उनी छोरीको घरमा पुगेनन् बिहीबार दिउँसो उनको शव कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा फेला परेको थियो ।
५० वर्षीय बिलाखका आफन्त पनि भारतबाट आइसकेकाले भेरी अस्पतालमा पुगेर शवको पोष्टमार्टम गरिने तयारी गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।