पश्चिम नवलपरासी
नवलपरासी कार्तिक,३०,गते-भारतीय बजारबाट तस्करी गरेर ल्याइएको लेडिज कपडा सशस्त्र प्रहरीले पंचपेडाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भुजहवाले कपडा बरामद गरेको हो । भारतदेखि भन्सार छली गरेर ल्याइएको करिब ८ लाख ६० हजार मूल्य बराबरको कपडा प्रतापपुर गाउँपालिका- ४ पंचपेडाबाट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल बिओपी सरावल गाउँपालिका वडा नं ७ स्थित भुजहवाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम कार्कीको नेतृत्वमा खटिएको गस्ती टोलीले ३ सय ४४ पिस रहेको लेडिज मखमलको सुट बरामद गरेको हो । बरामद गरिएको कपडा सशस्त्र प्रहरी बल बिओपी भुजहवाले आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाएको सशस्त्र प्रहरी गण नं २६ का गणपति धिरेन्द्रराज न्यौपानेले जानकारी दिए ।
बरामद गरिएको कपडा क्यारिङ गरि ल्याइएको हुन सक्ने बुझिएको छ । व्यापारीले भारतीय नागरिकलाई क्यारिङको जिम्मा दिएर पंचपेडा प्रहरी चौकीका असइ अमर बहादुर नेपालीको मिलोमतोमा अबैध कपडाहरु तस्करी गर्दै आएको स्थानीयले बताउँछन् ।
प्रहरी चौकी पंचपेडाका प्रहरी प्रमुख अमर बहादुर नेपालीको मिलोमतोमा दिनहुँजसो खुलेआम तस्करी हुने गरेको स्थानीयहरुको भनाइछ। उनको मिलोमतोमा दिनहुँ किरानाका विभिन्न समान चिनी हाडवेयरका समान कपडा खसी भैसी पाडा मल गेहु पेट्रोल डिजल सिमेन्ट, बालुवा लगायतका सर-समानहरु ठूलो रुपमा तस्करी हुने गरेको छ ।
भुजहवा नाकाबाट तस्करी रोकिएपछि तस्करहरुले पंचपेडा प्रहरी चौकी स्थित हरखपुर नाकाबाट प्रहरी प्रमुख नेपालीको मिलोमतोमा तस्करी गरिरहेका छन् । उनले तस्करसंग महिनवारी मोटो रकम उठाएर तस्करी गराइ रहेका हुन ।