सिमा चौधरी/ धनुषा
महोत्तरी कार्तिक २९ गते-कुख्यात डाकाहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याउने क्रममा प्रहरी नियन्त्रणबाट भाग्न खोज्दा प्रहरीसँग भएको दोहरो भिडन्तमा दुई डकैत गोली लागि घाइते भएका छन । दोहरो भिडन्तमा दुई डकैतसहित दुईजना प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहनु भएका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताउनु भयो ।
महोत्तरीका प्रहरी नायब उपरीक्षक गिरीका अनुसार दुई जनालाई रौटहटको गरुडा नगरपालिका-४ पानी ट्याङकी स्थितबाट मंगलबार मध्याह्न ३ बजे नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन्।
दुवै जनालाई महोत्तरीतर्फ ल्याउँदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी बिग्रेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को गाडी मगाई उक्त गाडीले राति १० बजे महोत्तरीको सिमाना सोनमा गाउँपालिका-५ सम्म पुर्या्एपछि पुन: महोत्तरीबाट आएको अर्को गाडीमा उनीहरूलाई हाल्न खोज्दा गाडीबाट हामफालेर भाग्न खोजेका थिए।
त्यसपछि प्रहरीले गोली चलाउँदा दुवैको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। हाल दुवै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली चार थान समेत बरामद भएको छ।
दुवै जनाले गत कात्तिक २० गते बिहान करिब अढाइ बजे जलेश्वर नगरपालिका-८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा डकैती गरेका थिए। उक्त टोलीमा हातहतियार सहित कुल सात/आठ जना रहेको प्रहरीले जनाएको छ। चौधरीको घरबाट उनीहरूले ४० तोला सुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, एक थान मोबाइल, नगद एक लाख ७५ हजार रकम लुटेको आरोप छ।दुवैजना माथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २ को दफा २४४ बमोजिम सजाय हुने प्रहरीले जनाइएको छ ।