नेपालगंज कार्तिक १६ गते।
नेपालगन्ज वडा नम्बर ४ निवासी रिगल भनिने योगराज ढकालका विषयमा गरिएको कैद मिनाहालाई सर्बोच्च अदालतले बिहीबार दिउँसो बदर गरेको छ । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका योगराज ढकाल (रिगल)ले आफूले आगामी दिनमा फेरि न्याय पाउने बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पणका लागि जानुअघि एक भिडियोमार्फत रिगलले फेरि न्याय पाउने आशा राखेका हुन् ।
उनले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने बताए ।‘सम्मानित अदालतले गरेको निर्णयको सम्मान गर्दै र कानुनमाथि फेरि पनि विश्वास राख्दै मैले भोलि फेरि न्याय पाउने छु भन्ने एउटा आशा गर्दै म आत्मसमर्पण गर्न जाँदै छु । मलाई लागेका दोषहरू पछि के हुन्छ, कसो हुन्छ, त्यो फेरि छानबिन होला । तर, आज सर्वोच्च अदालतको फुल बेन्च (पूर्ण इजलास) ले जुन निर्णय गर्यो त्यसको म सम्मान गर्दै म आत्मसमर्पणका लागि जाँदै छु,’ उनले भनेका छन् ।
कर्तव्य ज्यानको अभियोगमा दोषि ठहर भएका ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ। संविधान दिवशको अबसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते रिगलसहितका कैदीलाई आममाफी दिने निर्णय गरेका थिए।
आफ्ना पति चेतन मानन्धरका हत्यारा रिगललाई सरकारले आममाफी दिएर छाडेपछि भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। अदालतले भारतीको पक्षमा फैसला गर्दै सरकारको उक्त निर्णय बदर गराइदिएको हो । अब रिगललाई बाँकी कैद भुक्तानका लागि फेरि जेल पठाइने छ । जन्मकैद २० वर्षको हुने भएकाले उनले भुक्तान गर्न बाँकी ११ वर्ष ११ महिना ५ दिनका लागि जेलमा बस्नुपर्ने छ ।