नेपालगंज कार्तिक १५ गते ।
समुदायस्तरिय सरोकारवालाहरुसँग लैङ्गिक समानताका लागी पुरुष सहभागितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ परसपुर स्थित रहेको ज्ञान सागर मा.वि. मा ३० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जसमा किशोर एवं अभिभावकहरुको उपस्थिती रहेको थियो ।
अन्र्तक्रियामा कार्यक्रम संयोजक एवं प्रस्तोता नारायण घिमिरेले समुदायस्तरमा हुने विभिन्न लैङ्गिक हिंसा, समानता तथा अन्य गतिविधिहरुमा पुरुषको सहभागिता, काम कर्तब्यका विषयमा छलफल तथा बहस गरिएको थियो । उनले समाजमा हुने परम्परागत हानिकारक अभ्यास न्युनिकरणमा समुदायस्तरिय सरोकारवालाहरुको सहभागिता के कस्तो हुनुपर्छ भन्ने समुदायस्तरमा भएको उक्त अन्तरक्रियामा घरेलु विवाद एवं हिंसाका कारण महिलालाई खेप्नु परेको अवस्था, समाजमा रहेका हानिकारक मुल्य मान्यता लगायतका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रम संयोजक घिमिरेले मेलमिलापका कारण अझै चुनौती थपिएको बताए । उनले भने, ‘महिलाहरु विभिन्न प्रकारका हिंसाबाट पिडा पाइरहेका हुन्छन तर राज्यले व्यवस्था गरेको सजाय भन्दा मेलमिलाप तथा सम्झाई बुझाई गरेर पठाईन्छ । यस कारण पनि व्यवहारिक रुपमा निर्मुल पार्न चुनौती छ ।’
उनले बालविवाह रोक्नका लागि शुरुमा परम्परागत रुपमा चल्दै आएको नकारात्मक मुल्य मान्यतालाई त्यागेर मानिसिकता परिवर्तन गर्न जरुरी रहेको बताए । बालविवाह रोकथामका लागि सम्बन्धित संघ संस्था एवं सरोकारवालाहरुको भुमिका विषयमा समेत छलफल गरिएको थियो ।
नेपाललाई २०३० सम्म सबै प्रकारका हिंसाबाट मुक्त गराउन सरकारको दीगो लक्ष्य रहेको छ । सरकारले अन्र्तराष्ट्रियस्तरमा हस्ताक्षर समेत गरिसकेको छ । उक्त लक्ष्य पूरा गर्न आआफ्नो ठाँउबाट अभियानका रुपमा कदम चाल्ने सहभागीहरुले प्रतिबद्धता गरेको थिए ।
३६ प्रतिशत किशोरीहरुको बिवाह १८ वर्ष नपुग्दै र १० प्रतिशत किशोरहरुको बिवाह २० वर्ष नपुग्दै भईरहेको विभिन्न तथ्यांकहरुले देखाउँछन । गाउँ समाजमा हुने विभिन्न हानिकारक अभ्यास न्युनिकरण गर्न समुदायस्तरमा स्थानिय तहले ठूलो भूमिका खेल्नुपर्ने र महत्वपूर्ण भूमिका स्थानिय तहले खेल्नु आवश्यकता रहेको घिमिरेले बताए । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुकी एसएम उषा लिम्बु र मनोसमाजिककर्ता विनिता रेग्मीले सहजिकरण गरेकी थिइन ।