समाचारदाता
नेपालगन्ज, कात्तिक १४ गते-गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतको कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ।इन्डियन जर्नलिस्ट एशोसियसनको राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशको आर्थिक केन्द्र कानपुरमा सोमवार आयोजना गरिएको वर्तमान परिपेक्षमा पत्रकारहरुको भुमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो ।
इन्डियन जर्नलिस्ट एशोसियसनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशी, वरिष्ठ पत्रकारहरु जुबेर अहमद फारुकी, गिरिराज सिंह, डा रमेश बर्मा, अन्जनि निगम लगायतले गोरखापत्रकर्मी खानलाई सम्मान गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताले लोकतन्त्रको रक्षाका लागि भारत र नेपालका पत्रकारको भुमिका सबैभन्दा अहम भएको जनाउँदै अहिले पनि सोहि कार्यमा लागिरहेको बताएका थिए।
कार्यक्रममा एशोसियसनका राष्ट्रिय अध्यक्ष कुरैशिले एशाेसियसनले यस्ता कार्यक्रमलाई निरन्तर गरिरहने बताउनुभयो । सो अवसरमा भारतका दर्जनबढि वरिष्ठ पत्रकारहरुलाई विभिन्न सम्मान प्रदान गरिएको थियो ।
सम्मेलनले पत्रकारहरुलाई सरकारले तलब सुविधा प्रदान गर्नुपर्ने र डिजिटल पत्रकारितालाई मान्यता दिनुपर्ने लगायत पत्रकारको सुरक्षा सम्बन्धि विभिन्न प्रस्ताव पनि पारित गरेको एशोसियसनका कानपुर युनिटका अध्यक्ष मुकिम कुरैशीले बताउनुभयो । सो सम्मेलनमा भारत र नेपालका दुईसय बढी पत्रकारहरुको सहभागिता रहेको थियो । फोटो क्याप्सन गोरखापत्रकर्मी खानलाई सम्मानित गर्दै अतिथिहरु ।