नेपालगंज कार्तिक ७ गते ।
किभा फाउन्डेसनले आफ्नो संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गर्ने भएको छ ।बाँकेको नेपालगञ्ज-२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक कार्यक्रम गर्दैछ । बडा दशैंको घटस्थापनाको दशौ दिन सम्म दुर्गा मुर्तीको पूजाअराधना गर्ने र ११ औं दिनमा मुर्ती विसर्जन गर्ने धार्मिक परम्परा सदियौं देखि चलिआएको छ ।
विसर्जनको अवसर पारेर किभा फाउन्डेसनले नेपालगञ्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाँउपालिका वडा नं. ४ स्थित सापुर्वा चोकमा भण्डाराको आयोजना गरेको संस्थापक अध्यक्ष संगिता पाठक (सन्ध्या शर्मा)ले जानकारी गराईन । ‘नारीः शक्ति समृद्धिको मार्गदर्शिका’ भन्ने मुलमन्त्रका साथ चालुआर्थिक वर्षको साउन देखि सञ्चालनमा आएको यस फाउन्डेसनले बजार क्षेत्र भन्दा बाहिर कार्यक्रम आयोजना गरेर अभियानको सुरुवात गर्ने महासचिव अजय पाठकले जानकारी दिए ।
उनले भने, ‘बजार भित्र बिभिन्न संघ संस्था र व्यक्तिहरुले भण्डारा लगायतका कार्यक्रम आयोजना गरिरहेकै हुन्छन तर गाँउघर तिर कमै भएका हुन्छन । भण्डाराको बहानामा गरिब घरपरिवारका लागि एक छाक टार्नसमेत सहयोग पुग्ने उद्देश्यले बजार क्षेत्र बाहिर यो कार्यक्रम आयोजना गरिएको हो । धार्मिक संगै सामाजिक उत्तरदायीत्व समेत पूरा हुन्छ ।’
उक्त फाउन्डेसनको सञ्चालक समितिको अध्यक्षमा नाईल खबरकर्मी संगिता पाठक (सन्ध्या), उपाध्यक्षमा ई-श्रद्धा न्यूजका सञ्चालक शिवम गुप्ता, कोषाध्यक्षमा श्री एस ईन्टरनेसनल प्रा.लि.का सञ्चालक रामदिन मोदी, महासचिवमा नाईल खबरका सञ्चालक अजय पाठक र सदस्यमा वर्मा एण्ड एसोसिएट्सका राजकुमार लोध रहेका छन ।
फाउन्डेसनले असोज १५ गते देखि आजिवन सदस्य र साधारण सदस्यका लागि फारम खुला गरेको छ । देशको जुनसुकै स्थानबाट नेपाली नागरिकले सदस्याता लिनपाउने सदस्यता संयोजक मन्सुर अली इद्रिशीले जानकारी दिए । जिल्लाका विभिन्न स्थानबाट सदस्यता लिनेहरुको क्रम जारी छ ।
यस कार्यक्रममा नाईल खबर डट कम, मेरो होस्टिङ्ग, लिओ कलब अफ काठमाडौँ गुलमोहर, लिमरा खबर र ई श्रद्धा न्यूजको सहकार्य रहेको छ । किभा फाउन्डेसनले सामाजिक उक्तरदायीत्वलाई मध्यनजर गर्दै माहिलाहरुको लागि विशेष काम गर्ने, आर्थिक रुपमा कम्जोर वा असाहाय परिवारका बालिकाहरुलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने, विवाहमा आर्थिक सहयोगका साथै अतिविपन्न परिवारका बालिकाहरुको सामाजिक, रितीरिवाज तथा धार्मिक परम्परा अनुसार सामुहिक रुपमा विवाहको आयोजना गर्ने मुख्य उद्देश्य रहेको महासचिव पाठकले जानकारी दिए ।