रौतहट असोज ३० गते।
रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साह पदमुक्त भएकी छन्। मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युतिँदा पूर्व पार्टी छाडेर एमालेतिर लागेका पुर्ब मंत्री प्रभु साहकी पत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको पद गुमेको छ ।
माओवादी केन्द्रको निर्णय बमोजिम निर्वाचन आयोगले साहसहित १४ जना जनप्रतिनिधिको पदमुक्त भएको सूचना प्रकाशित गरेको छ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको हो ।
पार्टी परित्यागपछि पद रिक्त भएकाहरूमा रौतहटका ७, कैलालीका ४, सिरहा, ओखलढुंगा र महोत्तरीका १/१ जना जनप्रतिनिधि रहेका छन् । असार ७ गते बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यी जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई पठाएको थियो । पार्टीको निर्णय अनुसार आयोगले पदमुक्त गरेको सूचना प्रकाशित गरेको छ ।