बाँके असोज २० गते ।
पत्रकारको परिचय पत्र बोकेर हुल हुज्जत गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो नेपालगञ्जको विपी चोक क्षेत्रबाट पक्राउ परेका चार जना मध्ये एक जनाको साथबाट पत्रकारको परिचयपत्र बरामद भएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयमा विवाद उत्पन्न भएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । उक्त निषेधाज्ञा उल्लघंन गर्ने र सडकमा हुल हुज्जत गर्ने चार जनालाई शुक्राबार नै प्रहरीले पक्राउ गरेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ जोहलनपुर्वाका ३२ वर्षीय रियाज खानको साथबाट खबर नेपालगञ्ज नामक अनलाईनको पत्रकार परिचयपत्र बरामद भएको प्रहरीले जनाएको छ । खानको विषयमा थप बुझ्दा उनी पेशाले सुनचाँदी ब्यवसायी हुन् । नेपालगन्ज ८ जोहलनपुर्वामा उनको सुनचाँदी पसल छ ।
परिचय पत्र बोकेर हुल हुज्जत गर्नमा खानले नेतृत्व गरेको बताइएको छ । पत्रकारको परिचयपत्र दुरुपयोग भएको खबर बाहिरिएपछि उक्त अनलाईन विवादमा आएको छ । यति बेला यस विषयमा चौतर्फी आलोचना भईरहेको छ । खान पत्रकारिता पेशामा संलग्न नै नरहेको बुझिएको छ ।
पत्रकार परिचयपत्र मात्र दुरुपयोग नभई प्रेस लेखिएका सवारी साधन पनि निषेधाज्ञामा खुबै कुदेका देखिएको पत्रकारले बताउँछन । यता उक्त अनलाईनका संचालक अनिष शाहले रियाज खान माथि प्रहरीले अपशब्द प्रयोग गरेको र त्यस कारण प्रहरी संग उनी हुज्जत गरेको भन्दै पक्राउ गरेको बताएका छन । उनी माथि अनुसन्धान गरेर राती साढे नौ बजेको समयमा रिहा गरेको थियो ।
यद्दपी उनी पत्रकार नरहेको नेपाल पत्ररकार महासंघ बाँकेका सचिव कमल डाँगीले बताए । उक्त समाचार पोर्टलमा संचारगृह बारे कुनै पनि आधिकारिक विवरण भने छैन । जबकी दर्ता भएका अनलाईनलाई सूचना विभाग र प्रेस काउन्सिलले अनिवार्य रुपमा आधिकारिक सम्पादकको नाम र सञ्चारगृहको अनुमति दर्ता नं. खुलाउन मन्जुरी गराएको हुन्छ ।