बाँके असोज १८ गते ।
नेपालगञ्ज उपमहानगरपालिकामा भोलि शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य कामकाज ठप्प पार्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने कार्यक्रम रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्र्तगत २३ वटै वडाहरुमा कर्मचारीहरुले शुक्रबार आन्दोलन स्वरुप पेन डाउन गर्ने भएका छन ।
नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबार विहान १० बजे कर्मचारीहरु जम्मा भएर सरकारलाई दवाव दिन पेन डाउन गर्ने कार्यतालिका रहेको कार्यक्रम संयोजक तेजेन्द्र रोकायले जानकारी दिए । देशभरीका सबै स्थानीय तहरुमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा प्रवाह नगर्नेगरी शुक्रबार अनिश्चितकालीन पेन डाउन गर्ने स्थानीय संघर्ष समितिको कार्यतालिका रहेको केन्द्रिय संयोजक दिपक गौतमले जानकारी दिए ।
नेपाल सरकार मन्त्री परिषदको गत भदौ २१ गते बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरी संसदमा पेश गर्ने निणर्य भएको थियो । उक्त विधेयकमा स्थानीय कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयहरु अस्पष्टता रहेको देखिएको संघर्ष समितिले जनाएको छ ।
जस कारण काठमाण्डौं केन्द्रीय आन्दोलनका कार्यक्रम गर्ने कार्यतालिका रहेकोमा नेपालगञ्ज स्थानीय सङ्घर्ष समिति गठन भएको हो । केन्द्रीय समितिले घोषणा गरेको २० बुँदे माग अघि सारिएको हुँदा उक्त मागहरुलाई ऐक्यबद्धता जनाउदैँ नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका २३ वटै वडामा पनि आन्दोलन गर्ने कार्यक्रम रहेको संयोजक रोकायले जानकारी दिए ।