नेपालगञ्ज असोज ५ गते ।
जयेन्दु बाल सुधार गृहबाट चार जना कैदी बन्दी अझै फरार छन्। बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ४ जना अझै फरार रहेका छन् । गएराति १० बजेबाट लागूऔषध सेवन गर्ने र नगर्ने कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।
कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । प्रहरीका अनुसार, बालसुधार गृहमा पोशाकका प्रहरीको उपस्थिति हुँदैन । उक्त झडपमा कञ्चन गाउँपालिका–४ रूपन्देहीका सुलभ केसीको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन्।
बाल सुधार गृहको स्थिति आज मध्याह्नमा सामान्य भएको छ । सुधार गृहमा होहल्ला गर्ने ३३ जनालाई जमुनाहा र हिरमिनिया प्रहरी कार्यालयमा पठाइएको छ । थप एक जनालाई अस्पताल ल्याइएको छ । अस्पतालमा १० जना पहिले देखिनै उपचारमा छन्। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्र.उ. सन्तोष सिंह राठौरको कमाण्डमा १ सय एक जनाको टोली र ३० नं. गण हे.क्वा. बागेश्वरी बाँकेबाट स.प्र.नि. रविन्द्र कार्कीको कमाण्डमा २५ जनाको टोली परिचालन गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्र.ना.म.नि. उमेश राज जोशी जयेन्दु बाल सुधार गृह हिरमिनिया बाँकेमा आइपुगेका छन् । करिब १६ घण्टापछि बाँकेको बाल सुधार गृहलाई प्रहरीले आफ्नो कब्ज़ामा लिएको छ । हाल उक्त बाल सुधार गृहबाट के कती फरार भएका छन भन्ने गणना गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। फरार रहेका केही कैदीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
बाल सुधार गृहमा २ सय ५४ जना रहेकोमा गन्ती गर्दा चार जना फेला नपरेको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । यसअघि भदौ २ मा भक्तपुरमा रहेको बाल सुधार गृहमा पनि तोडफोड गरेर कैदीबन्दीहरु भागेका थिए । भक्तपुरबाट सारिएका कैदीबन्दीले भदौ २७ मा वीरगञ्जस्थित सुधार गृहमा पनि तोडफोड गरेका थिए ।