विराटनगर असोज २ गते ।
विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीको पदबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो । विराटनगर अस्पताल चोकमा पार्कीङको विषयमा विवाद हुँदा जसपा नेता यादव र प्रहरी जवानबीच ठेलामठेल भएको थियो ।
घटना स्थल पुगेको नगरप्रहरीले जसपा नेता यादवलाई औषधि पसलबाट कठालोमा समातेर वडा प्रहरी कार्यालय विराटनगरमा पुर्याएको थियो । नगर प्रहरीले कठालोमा समातेर लछारपछार पार्दै ल्याएको भिडियो सार्वजनिक भएपछि जसपा कार्यकर्ताले आन्दोलन गरेका थिए । आन्दोलनपछि नगरप्रमुख नागेश कोइरालाले नगरप्रहरीलाई नगरप्रहरी सेवाको जिम्मेवारी पदबाट हटाएका हुन् । भदौं २७ गते बेलुका नगरप्रहरीले जसपा नेतालाई लछारपछार पार्दै प्रहरी कार्यालय पुर्याएका थिए ।
मेयर नागेश कोइरालासँगको छलफपछि घटना साम्य भएको थियो । तर लछारपछार पारेको भिडियो सार्वजनिक भएपछि जसपाले प्रदर्शन गरेको थियो । जसपाले प्रदर्शनपछि महानगरपालिकामा भदौं ३१ गते महानगर प्रमुख र जसपा नेताबीच छानविन गरी कारवाही गर्ने सहमति भएको थियो । छानबिनपछि नगरप्रहरी हलल्दार रमेश निरौला भण्डारी, नगरप्रहरी जवान विक्रम श्रेष्ठ र बब्लु केशरीलाई नगरप्रहरी सेवाबाट हटाएको मेयर नागेश कोइरालाले जानकारी दिएका छन् ।
विराटनगर महानगरपालिका प्रमुखज्यूको अध्यक्षतामा जसपाका केन्द्रीय सदस्यसहितको प्रतिनिधिमण्डलको उपस्थीतिमा भएको छलफलको निर्णयबाट महानगरप्रमुखज्यूलाई छानविन गरी आवश्यक कारवाही गर्ने अख्तीयारी दिएको आधारमा नगरप्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगरप्रहरी जवानहरु विक्रम श्रेष्ठ र बब्लु केशरीलाई आजकै मितिबाट लागु हुनेगरी नगरप्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ’ नगरप्रमुख नागेश कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
जसपा अध्यक्ष यादव विराटनगरको अस्पताल चोकमा रहेको स्नेहा फार्मेसीका सञ्चालक हुन् । उनको पसल अगाडि बुधबार नो पार्किङमा रोकेको सिटी सफारीमा ह्वील लक लगाइदिएको थियो । बेलुका करिब ४ बजे पसल पुगेका यादवलाई सफारी चालकले प्रहरीले लक ल गाएको र खोल्न आग्रह गर्दा नमानेको गुनासो गरे । यादवले सवारी छाड्न भनेपछि विवाद भएको थियो ।