बाँके भदौ २२ गते ।
जानकी गाँउपालिकाकी उपाध्यक्षले पालिकाले पटक पटक आफ्नो अधिकार हनन् गर्दै आएको बताएकी छन । उपाध्यक्ष राम प्यारी यादवले गाँउपालिकाले स्थानीय तहको चुनाव भएको करिब डेढ वर्ष वितिसक्दा समेत कार्यभारको जिम्मेवारी बोध गर्न नपाएको गुनासो गरिन । कुनै कारणवस गाँउपालिका अध्यक्षले कार्यवाहक दिन चाहेमा उपाध्यक्षलाई जिम्मेवारी दिने र उपाध्यक्षको समेत अनुपस्थितीमा सदस्यलाई कार्यवाहक दिन मिल्ने कानुनी प्रावधान रहेको छ ।
गाँउपालिका अध्यक्ष छब्बन खाँले स्वास्थ्य परीषणका लागि आफु काठमाडौँ जानुपर्ने कारण देखाउदै भदौ १८ गते जानकी गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष जगदिश प्रसाद हरिजनलाई कार्यभार दिएका छन ।अध्यक्ष खाँले भदौ १९ गते देखि २५ गते सम्मका लागि आर्थिक कारोबार बाहेकका गाँउपालिका अध्यक्षले गर्नुपर्ने अन्य दैनिक कामकाजको लागि वडाध्यक्ष हरिजनलाई कार्यवाहकको जिम्मेवारी दिएका छन । जस पश्चात गाँउपालिकाकी उपाध्यक्ष यादवले उक्त विषयमा विरोध गर्दै पालिकाले पटक पटक आफ्नो अधिकार हनन् गर्दै आएको बताएकी छन ।
उनले आफु कारणवस कार्यभार गर्न नसक्ने भएको अवस्थामा सदस्यलाई जिम्मेवारी दिनु स्वाभाविक रहेको तर आफु जिम्मेवारी वहन गर्न सक्ने हुदाँ हुदैँ पालिकाले आफ्नो अधिकारबाट बञ्चित गर्दैआएको बताएकी छन । उनले मिडिया मार्फत आफ्नो आक्रोश पोख्दै भनिन्, ‘उपाध्यक्ष हुदाँ हुदैँ सिधैँ सदस्यलाई कार्यवाहक दिन पाउने कुन कानूनी व्यवस्थामा लेखेको छ ? यहाँका कर्मचारी समेत मेरो कुरा सुन्दैनन् । एउटा चिठ्ठी बनाउन लगाउदा समेत अध्यक्ष संग सल्लाह गर्नुपर्ने जवाफ दिने गरेका छन । कार्यवाहक भएपनि उपाध्यक्ष त स्वता हुन्छन ।
त्यही पनि कर्मचारीको यस्तो रवैया छ ।’ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा १ बमोजिम सात दिन भन्दा बढी समय गाँउपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपमेयरलाई कार्यभार दिने र उपाध्यक्ष वा उपमेयर पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने व्यवस्था रहेको छ ।
अध्यक्ष खाँले कुन कानूनी व्यवस्थालाई टेकेर कार्यभार सिधै सदस्यलाई दिएका छन भन्ने आफुलाई जवाफ चाहिएको उपाध्यक्ष यादवले बताईन । गाँउपालिका लेखा अधिकृत एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अहमद अन्सारीले यो एक तर्फी आरोप मात्रै रहेको स्पष्ट पारेका छन ।
अध्यक्ष वा उपाध्यक्ष भए पनि कर्मचारीले सामान रुपमा उनीहरुको निर्देशनमा कार्य संचालन गर्ने गरेका छन । उनले कर्मचारीको विषयमा प्रस्ट पार्दै भने, ‘त्यस्तो केही पनि होइन । उहाँको मनको कुरा हो, समयमै अफिस नआईदिने र काम पनि नगर्दिने, उपाध्यक्ष आफै टाढा टाढा बस्नुहुन्छ । उहाँको कोर्डिनेशनमा समस्या छ । उहाँ प्राय अरुको कुरा सुन्ने गर्नुहुन्छ ।’