रबिन्द्र यादव /पश्चिम नवलपरासी
नवलपरासी भदौ १७ गते-पश्चिम नवलपरासीको श्रीरामपुर टोलमा दुर्लभ जातका अजिङ्गर सर्प फेला परेको छ । प्रतापपुर गाउँपालिका वडा नं ५ श्रीरामपुर स्थित हरिजन टोलमा अंजिगर सर्प फेला परेको हो । जिउत चमारले आफ्ना घर पछाडि राखेको उखुको पातमा आइतबार ठुलो आकारको अजिङ्गर सर्प फेला परेको हो ।
करिब १० फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको बसहिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनार्दन यादवले जानकारी दिनुभयो । सो अजिङ्गर सर्पलाई सुस्ता-प्रतापपुर गाउँपालिका सब डिभिजन वन कार्यालय फेचुवा (बरवा) मा बुझाइएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाले जानकारी दिए ।
सुस्ता-प्रतापपुर गाउँपालिका सब डिभिजन बन कार्यालय फेचुवा बाट आएका टोलीले उक्त सर्पलाई नियन्त्रणमा लिन खोज्दा वन रक्षक रामप्यारे कोइरीलाई उक्त अंजिगर सर्पले दाहिने हातमा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते वन रक्षक कर्मचारी कोइरीलाई उपचारका लागि त्रिवेणी स्थित सर्पदंश उपचार केन्द्रमा पठाइएको प्रहरीले जनाएको हो ।