नेपालगंज भदौ ७ गते ।
बाँके जिल्लाका किसानहरुले भारतीय दूध रोक्न माग गरेका छन् । जिल्ला दूध व्यवसायी संघ, बाँकेले अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेको बताएको छ। दूध व्यवसायी संघका अध्यक्ष दीपकराज भण्डारीले भारतबाट दैनिक भित्रिने आठ हजार लिटर दूधका कारण नेपाली किसान मारमा परेको जनाएको छ ।
जिल्ला प्रशासन बाँके र नेपालगञ्ज उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएको जानकारी दिदै अध्यक्ष भण्डारीले केही दिनभित्रै भारतीय दूध आयातमा रोक नलगाए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन। पूर्वअध्यक्ष बदरुद्दिन अन्सारीका अनुसार, बाँकेमा २४ हजार लिटर दूध उत्पादन हुन्छ।
बर्दिया जिल्लाबाट ७ हजार लिटर दूध आउँछ बाँकेमा दैनिक २२ हजार लिटर दूध खपत हुन्छ। भारतबाट बढी दूध भित्रिने गरेको छ। भारतबाट ८ हजार लिटर दूध भित्रिदा त्यही बराबरको नेपाली किसानको दूध बिक्री हुन न सकेको किसान मर्कामा परेको उनले बताए ।
बाँकेको सबै पालिकामा दुधालु गाईभैँसीबाट दैनिक २४ हजार लिटर दूध उत्पादन हुने गर्दछ। पछिल्लो दिनमा भारतबाट भित्रिने दूधको क्वारेन्टाइन र नेपालगंज भन्सार कार्यालयले रेकर्ड नराखेको किसानको गुनासो रहेको छ। नेपाली किसानले भारतबाट भित्रिने दूधको रेकर्ड राख्न, भन्सार लिएर छोड्न आग्रह समेत गरेका छन्। भारतीय दूधलाई भन्सार लगाएमा नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्ने दुग्ध व्यवसायी संघका अध्यक्ष भण्डारीले बताए ।