मंसूर अली इद्रिशी
बाँके सावन ३१ गते-नेपालगंज वडा नम्बर १४ ले वडामा आँखा पाक्ने रोग देखा पर्न थालेपछि आँखा शिविर सञ्चालन गरेको छ। समयमै सरुवा रोग नियन्त्रयणका लागि बुधबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको वडा अध्यक्ष मजहर अली साईंले आफ्नो पावने भत्ताको रकम बाट निःशुल्क आँखा शिविर सञ्चालन गरेको बताए । नेपालगंज १४ स्वास्थ्य चौकी को संयोजनमा वडा नम्वर १४ को वडा कार्यालयमा शिविर सञ्चालन गरिएको छ।
बिहान १० वजे देखि सुरु भएको शिविरमा करिव तिन सय पचिस जनाले सेवा लिइसकेको वडा नम्वर १४ का वडाध्यक्ष मजहर अली साईंले लिमरा खबरलाई बताए। केही दिनयता नेपालगंजका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ। चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ भनिन्छ। रोग नेपालगंज वडा नम्बर १४ मा पनि फैलिन थालेकाले समयमै शिविर सुरु गरिएको स्वास्थ्य चौकी प्रमुख मोहन देवकोटाले बताए।
नेपालगंजका अस्पतालहरुको बहिंरग सेवामा आँखा सम्बन्धी बिरामीको चाप बढिरहेको देखेपछि आफूहरुले अस्पताल पुग्न नदिने उद्देश्यका साथ शिविर सुरु गरेको उनले बताए। आँखा पाक्ने समस्या भएका बिरामी अत्यधिक रुपमा अस्पताल आइरहेका बेला नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ ले नगरमै पहिलो पटक समुदायस्तरमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको निःशुल्क उपचार गर्ने लागेको दाबी उनले गरे।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ ले मंगलबारनै सार्वजनिक सूचना जारी गर्दै वडाबासीलाई आँखाको समस्या भएमा वडा कार्यालयमा आउन अनुरोध समेत गरेको थियो।