रबिन्द्र यादव / पश्चिम नवलपरासी
नवलपरासी सावन ३१ गते-सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सेमरी पश्चिम नवलपरासीले महेन्द्र राजमार्गको बर्दघाट नगरपालिका वडा नं ४ चिसापानी चोकमा रात्रीबस चेकजाँच गर्ने क्रममा कर छलेर ओसारपसार गर्न लागेको गाडीको पार्टपुर्जा सहित कस्मेटिक्स सामाग्रीहरु ठूलो मात्रामा बरामद गरेको हो । रुपन्देहीको भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको पश्चिम नेपाल यातायातको लु १ ख ८५५७ नम्बरको रात्रीबसमा बिलबिजक नभएको अवैध सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिएका हुन ।
सशस्त्र प्रहरीको नियमित चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल नेपाल सेमरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक श्याम कुमार थापाको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले उक्त अवैध सामाग्री बरामद गरेको हो । बरामद गरिएको सामाग्रीहरुमा गमला,काचको गिलास, फेस क्रीम, गाडीको ग्यारबक्स,केही लिक्विट र काजु लगायत रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको हो । अवैध सामाग्री बोकी ल्याउने रात्री बस र बरामद भएको अवैध सामाग्रीलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालय पठाइएको र बरामद गरिएको अवैध सामग्रीको मूल्य २ लाख ५२ हजार रहेको बताइएको छ ।
रुपन्देही जिल्लाको आसपासका इलाकाबाट अवैधकर्मीहरुले उल्लेखित सामाग्रीहरु चोरी, निकासी गरी ल्याइएको अनुमान गरिएको हो । दिउँसोको समयमा सुरक्षा चेकजाँच बढी हुने हुँदा अवैधकर्मीहरुले रातिको समयमा रात्री बसको प्रयोग गर्न थालेको गोप्य सुचनाको आधारमा चिसापानी चोकमा लाखौं मूल्य बराबरको अवैध सामाग्री बरामद गर्न सफल भएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको हो ।
स्रोतका अनुसार गणपतिको कडा निर्देशनमा रात्रिकालिन चेकजाँच बढाइएको हो । सशस्त्र प्रहरी बल नेपाल गण नं २६ बेलासपुरले ०७९/००८० आर्थिक बर्षमा ३ करोड ११ लाख बराबरको चोरी निकासीको मालसामान पक्राउ गरि भन्सार दाखिला गरेको गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देव बहादुर चन्दले बताए । खास गरेर कपडा , चिनी, हार्डवेयर, मदिरा, मल र खद्दान लगायतका समानहरु बढि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको हो । गणपति न्यौपानेले जिल्लाको सशस्त्र प्रहरीको जिम्मेवारी निर्वाह गरेदेखि राजस्व दाखिलामा उल्लेखनीय बृद्धी आएको हो ।