नरैनापुर साउन २४ गते ।
बाँकेको नरैनापुर गाँउपालिकाका प्रमुख इश्तियाक अहमद शाहले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । प्रमुख शाहले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको हो ।
नरैनापुरका आदिवासी जनजातिको हक हितको संरक्षण र संवर्द्धन तथा सांस्कृतिक पहिचानको सवालमा आफू सदैव प्रतिबद्ध रहेको शाहले बताउनु भयो । २९ औँ विश्व आदिवासी दिवसको अवसरमा प्रमुख शाहले आदिवासी जनजातिको पहिचानलाई संरक्षण गर्दै उनीहरूलाई राज्यको मूलधारमा ल्याई कुनै पनि किसिमको अवसरबाट वञ्चित हुन नदिन सबैले मिलेर कार्य गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रमुख शाहले दिवसले आदिवासी समुदायले मुलुकको विकास र प्रगतिका लागि गरेको योगदानलाई सबै समक्ष उजागर गर्दै आदिवासी जनजाति समुदायको हक हितलाई थप संस्थागत गर्न सहयोग पुग्ने उल्लेख गर्दै आदिवासी समुदायका दाजुभाइ तथा दिदीबहिनीबिच पारस्परिक सद्भाव, सहयोग र एकता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भए पनि आदिवासी,मधेशी मुस्लिमहरुलाई अझै पनि पूर्णरुपमा अनुभूति गर्न नपाएको बताउदै प्रमुख शाहले काठमाडौमा केही दिन अगाडि एक जना अधिवक्ताले आदिवासी, मुस्लिम लगायतको धार्मिक आस्थाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्ध प्रदर्शन गर्ने क्रममा नेपाल प्रहरी आन्दोलनकारीहरुलाई निर्मम तरिकाले दिएको यातनाको कडा शब्दमा निन्दा गर्दै यातना दिने कार्यमा संलग्नहरुलाई अविलम्ब कारवाही गर्न सम्बन्धीत निकाय संग अपिल गर्नु भयो ।
विविधता भित्रको एकता नै हाम्रो मूल मन्त्र रहेको बताउदै शाहले यहाँ विभिन्न जात, जाति, भाषा, सम्प्रदाय र धर्म मान्ने नागरिक भए पनि एक अर्काप्रति सामाजिक सद्भाव र सहिष्णुता अत्यन्त राम्रो रहेको उल्लेख गर्दै केही तत्वहरुले सहिष्णुतामा खल्ल पुर्याउन खोजी रहेकोले सम्बेधनशील हुन आग्रह गर्दै उहाँले यो नेपालको विशिष्ट पहिचान भएको र यसलाई दीर्घकालसम्म अक्षुण्ण राख्नुपर्ने बताउनुभयो । आज देशभर विभिन्न कार्यक्रमहरु गरी विश्व आदिवासी दिवस मनाइँदैछ ।