ऋषिराम पौड्याल
काठमाडौँ सावन १९ गते— क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलस्थित भियाना होटलबाट गत शनिबार समातिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ राजनीतिक शक्ति र कर्मचारी मिलाउने मुख्य व्यक्ति रहेको पाइएको छ । दावाको सम्बन्ध उच्च तहका केही राजनीतिक व्यक्तिसँग रहेको खुलिसकेको छ भने उनीसँग उठबसमा रहेका भन्सारका केही कर्मचारी पनि तानिने सम्भावना रहेको अनुसन्धानमा संलग्न अधिकारीहरूले जनाएका छन् ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरण अनुसन्धानमा दावालाई महत्त्वपूर्ण ‘कम्पोनेन्ट’ (अवयव) का रूपमा लिइएको जानकारी दिए । ‘हामी उनको सम्पर्क सूत्र विश्लेषण गरिरहेका छौं,’ उनले भने, ‘सुन प्रकरणमा जोडिने डरले धेरै चिनियाँ भागेका छन् ।’ महानिर्देशक ढुंगानाका अनुसार सुन तस्करी प्रकरणमा दावाले आफ्नो होटलमा बसेर योजना बनाएको घटना क्रमले देखाएको छ । ‘होटलमा दावासँग उठबस र आउजाउ गरेका मान्छेको पहिचान गरेर खोजी गरिरहेका छौं,’ उनले भने ।
विभागका अर्का एक अधिकारीले २/३ जना चिनियाँ अनुसन्धानको दायरामा रहेको र उनीहरूलाई पक्रने योजनामा रहेको जानकारी दिए । ‘केही नेपाली व्यवसायीसँग पनि दावाको उठबस देखिएको छ । हामीले कतिपयको पहिचान गरिसकेका छौं,’ ती अधिकारीले भने, ‘प्रमाण जुटाएर बयानका लागि बोलाउने तयारी गरिरहेका छौं ।’ क्विन्टल सुन प्रकरणमा अनुसन्धान गरिरहेको विभागले दावासँग सरोकार राख्ने जतिलाई बोलाउँदै बयान लिइरहेको छ ।
अनुसन्धान अधिकृतहरूका अनुसार स्कुटरको ‘ब्रेक सु’ को आवरणमा तस्करीको सुन ल्याउन रेडी ट्रेड कम्पनी खोलेर अवैध धन्दा चलाउन दावाको भूमिका रहेको छ । हङकङबाट भित्र्याइएको ‘ब्रेक सु’ सिनामंगल सडकबाट साउन २ मा बरामद गरेपछि खोलेर हेर्दा करिब १ क्विन्टल सुन भेटिएको थियो । त्यही विषयमा अनुसन्धान गर्ने क्रममा सोह्रखुट्टेबाट ‘ब्रेक सु’ का ६६ कार्टुन बरामद गरिएको थियो । तीमध्ये अधिकांश ‘ब्रेक सु’ खोक्रा थिए । गिरोहले ती ‘ब्रेक सु’ बाट सुन निकालेर अन्यत्र लगिसकेको विभागको अनुमान छ ।
दावाले दुइटा मोबाइल चलाउने गरे पनि एउटा मात्र भेटिएको विभागले जनाएको छ । दावाको भेटिएको मोबाइल पनि फर्मेट गरेको अवस्थामा थियो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार दावाले आफूलाई हिरासतमुक्त गरे अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । ‘दावाले सुनका विषयमा बोल्न नचाहेकाले सूचना पाउन कठिन भइरहेको छ,’ एक अनुसन्धान अधिकृतले भने । सुन प्रकरणमा संलग्न भएको आशंकामा विभागले चिनियाँ, भारतीय, बेल्जियन नागरिक, भन्सार कर्मचारी, एजेन्ट, कार्गो व्यवसायीसहित १९ जना पक्राउ गरिसकेको छ । सुन बरामद भएको दुई साताभन्दा बढी समय बित्दा अनुसन्धानमा ढिलाइ भएको आवाज उठिरहेको छ । यसको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राखेर संसद्समेत अवरुद्ध हुँदै आएको छ । अनुसन्धानको दायरा फराकिलो बनाउँदै प्रहरीलाई पनि जिम्मा दिनुपर्ने आवाज उठिरहेको छ ।
सुन तस्करीको अनुसन्धानका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दीनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तराज कुँवर र प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यबीच बिहीबार साँझ सिंहदरबारमा छलफल भएको छ । छलफल अनुसन्धानलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको थियो ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाले सुन तस्करी प्रकरणमा जोडिएर विदेशी मुद्रा अपचलन, अकुत सम्पत्ति र संगठित अपराधको विषय पनि अनुसन्धान हुन सक्ने बताए । सुन तस्करीले निरपेक्ष रूपमा एउटा विषयसँग मात्र सरोकार नराख्ने उनको भनाइ छ । ‘यसमा वित्तीय अपचलन, सीमा अपराध, अवैध मुद्राको कारोबार जोडिन सक्छ,’ उनले भने, ‘अहिले राजस्वले तत्काल जे आवश्यकता देखिएको छ, त्यो हेरिरहेको छ । विषयगत र क्षेत्रगत कानुनका आधारमा अरू विषयमा पनि अनुसन्धान हुन्छ ।’
यसैबीच भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार हङकङस्थित भन्सारसँग सुन आएको दिनको कारोबार विवरण माग गर्दै पत्र पठाइएको छ । सुन प्रकरण छानबिनका लागि भन्सार विभागले पनि समिति गठन गरेको छ । उक्त समितिले विशेषतः भन्सारको कमजोरी छ/छैन भन्नेमा अनुसन्धान केन्द्रित गरेको छ । राजस्व विभागले पनि अनौपचारिक रूपमा हङकङ भन्सारसँग कुराकानी गरिसकेको छ । ‘आन्तरिक प्रक्रिया पूरा गरेपछि थप सूचनाका लागि औपचारिक पत्राचार गर्छौं,’ महानिर्देशक ढुंगानाले भने ।