नेपालगंज सावन ११ गते ।
मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएको छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । विसं २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ ।
विशेषगरी मधेस प्रदेश, लुम्बनी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ कम भएको विभागले उल्लेख गरेको छ। जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
यही कारणले तुलनात्मकरुपमा कम वर्षा भएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । “अहिले मनसुन ब्रेकको अवस्था छ, वर्षाका क्रममा केही कमी आएको छ, वर्षा नै नहुने भन्ने त हैन तर, विगतका दिनको तुलनामा कम वर्षा हुने देखिन्छ”, उहाँले भन्नुभयो । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकोभन्दा दक्षिणतिर रहेकाले वर्षा कम भएको उहाँको भनाइ छ ।