मंसूर अली इद्रिशी
नेपालगंज सावन ८ गते-जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य मुस्लिम महिला बेबी तबस्सुम अंसारी युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सदस्यमा मनोनित हुनुभएको छ । शिक्षा मन्त्री र आयोगका अध्यक्षको निर्णयबाट अंसारी लाई चार बर्षका लागि आयोग सदस्य पदमा मनोनयन गरिएको हो ।
युनेस्को राष्ट्रिय आयोगको विधान २०३१ (संशोधनसहितको) परिच्छेद २ को दफा ३ उपदफा (२) र (३) बमोजिम असार ८ गतेको निर्णयले अंसारीलाई आयोगको सदस्य पदमा मनोनयन गरिएको सहायक महासचिव रामेश्वर प्रसाद यादवले जानकारी दिनुभयो । जसपाकी केन्द्रीय सदस्य अंसारीको अनुभव, योग्यता र विशेषज्ञताले आयोगले प्राज्ञिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको सहायक महासचिव यादवको भनाइ छ । युनेस्को आयोग शिक्षा मन्त्रीको अध्यक्षतामा रहने विधानमा व्यवस्था छ ।
विश्वमा शिक्षा, विज्ञान, संस्कृति, सामाजिक तथा मानवीय र सञ्चार क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्य सहित विशिष्टिकृत संस्थाको रूपमा स्थापित युनेस्को संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्ट सङ्गठन हो ।यसको स्थापना सन् १९४५ नोभेम्वर १६ मा भएको हो । शुरूमा यस सङ्गठनका सदस्य ३७ राष्ट्रहरू थिए भने हाल यसका सदस्य राष्ट्रहरू १९६ पुगेका छन् । यसको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ । क्षेत्रीय कार्यालयहरू तथा फिल्ड कार्यालयहरू विभिन्न मुलुकमा छन् ।
युनेस्कोको नेपाल पनि सदस्य राष्ट्र हो । नेपाल सन् १९५३ देखि युनेस्कोको सदस्य भएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले सन् १९५४ देखि युनेस्कोको निमित्त अन्तरिम आयोगको रूपमा काम गर्न थालेको थियो । जसपाकी केन्द्रीय सदस्य बेबी तबस्सुम अंसारी युनेस्को आयोग सदस्यमा मनोनित हुनु भएको नेपालगंज जसपाबाट निर्बाचित प्रदेशसभा सदस्य आदेश अग्रवालका स्वकीये सचिब मोहम्मद रजा राईले लीमरा खबरलाई जानकारी गराए ।