काठमाडौं सावन ४ गते ।
त्रिभुवन विमानस्थल भन्सारमा थप १०० किलो सुन हुन सक्ने भन्दै सर्च अपरेसन जारी छ। भन्सार परिसरमा अझै पनि गाडीका पार्टपुर्जा र उस्तै प्रकृतिका सामान रहेकाले उक्त सामानको परीक्षण भइरहेको छ। भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलले उस्तै प्रकृतिका पार्टपुर्जाहरु भन्सार परिसरमा भेटिएपछि परीक्षण भइरहेको जानकारी दिए।
ती पार्टपुर्जामा समेत सुन लुकाएर ल्याइएको हुन सक्ने आशंका गरिएको छ। राजस्व अनुसन्धान विभागको टोलीले बुधबार दिउँसो ३ बजे विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको थियो। एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान गरिएको अवस्थामा बिहीबार थप १०० किलो सुन हुनसक्ने आशंकामा जाँच थालिएको हो। बुधबार भेटिएको सुन हङकङबाट नेपाल ल्याइएको थियो। क्याथे प्यासिफिकको मंगलबार राति १० बजेर २ मिनेटमा अवतरण भएको जहाजबाट सुन ल्याइएको थियो।
अहिले एयरपोर्ट भन्सार प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छ। बिहीबार १० बजेदेखि विभागले नेपाली सेनाको विशेष सुरक्षामा नियमित कार्यालय आएका भन्सार कर्मचारीलाई पनि छिर्न नदिई अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै क्रममा थप सुन हुन सक्ने आशंका गरिएको छ।राजस्व अनुसन्धान विभागले अहिले हरेक कोणबाट अनुसन्धान थालेको छ।सुराकीको माध्यमबाट उक्त परिमाणमा सुन समातिएको हो। सुराकीको सूचनाका आधारमा सुन समातिएकाहरुले उनीहरुले कमिसन पाउँछन्। त्यो रकम निकै ठूलो हुने छ।
बुधबार दिउँसो विभागको टोलीले तयारी पोसाक, गार्मेन्टलगायतको कार्गो निरीक्षणका क्रममा सुन फेला परेको थियो।पछिल्लो समय नेपाल प्रहरीको रेकर्डमा एकैपटक सबैभन्दा धेरै ८८ किलो सुन बरामद भएको थियो। २०७४ भदौमा ठमेलबाट चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन समातिएको थियो।विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको जनाएको छ ।