बाँके सावन २ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको कब्रस्तानको आर्थिक हिसाब माग गर्दै कब्रस्तान संघर्ष समितिले संयुक्तरुपमा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । उक्त कब्रस्तानको संचालक समितिले मनमानी ढंगले कब्रस्तान संचालन र व्यवस्थापन गर्दै आएको बताउदैँ स्थानीय मुस्लिम अगुवा र संघर्ष समितिका पदाधिकारीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन ।’
उक्त ज्ञापनपत्रमा लेखिएको छ, ‘नेपाल मुस्लिम समाज सेवा संघ (कब्रस्तान) संचालक समिति, नेपालगञ्जले आर्थिक वर्ष ०६२/०६३ मा लेखा परिक्षण गराएको थियो । तर त्यस पश्चात आज आर्थिक वर्ष २०८०/८१ मा आइपुग्दा यस अन्तरालमा कुनैपनि लेखा परिक्षण भएको वा हिसाबको पारदर्शिता नदेखिएकोले आवश्यक छानविन गरिदिनहुन अनुरोध गर्दछौं ।’
कब्रस्तान संघर्ष समितिका सहसंयोजक रिजवान अलि शेषका अनुसार करिब ९-१० वटा वडाका मुस्लिम समाजको आस्था बोकेको उक्त कब्रस्तान संग जोडिएको मुख्य सडकमा रहेका सटरहरुको भाडा देखि लिएर चिहान खने बापतको शुल्क र उठेका चन्दाको विषयमा कुनैपनि हिसाब किताब देखिदैन । विधानमा समेत किर्ते गरिएको जिल्ला प्रशासन कार्यालयमा यस अघि नै मुद्दा दायर भईसकेको छ ।
१७ वर्षको अन्तरालमा साधारणसभा गर्न आवश्यक नठानी समितिका पदाधिकारीहरुले मनमर्जी ढंगले चलाएको ठहर गर्दै प्रमुख जिल्ला अधिकारीलाई आवश्यक छानविन सहित दोषीलाई कार्वाही गर्न दवाव दिइएको छ । उक्त संस्था जिल्ला प्रशासन कार्यालयमा के कति ? नविकरण भएको प्रश्न समेत गरेका छन।