नेपालगन्ज, असार ३० गते ।
भारतमा पछिल्ला केही दिनयता टमाटरको मूल्य आकाशिएको छ । टमाटरको मूल्य प्रतिकिलो २२० रुपैयाँ पुगेको छ।यसैबीच उत्तर प्रदेशको रुपैडिहा बजारसँग जोडिएको खुला नेपाल सीमानाकाबाट टमाटरको तस्करी शुरू भएको छ । रुपैडिहा बजारमा रहेको सब्जी मंडीमा तस्करले अवैध टमाटर पुर्याउने गर्छन।
घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँ रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा अत्यधिक कडाइ गरिएको छ। सोही कारणले अहिले सीमापारीबाट सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउनेहरूबाट राजस्व असुली गर्न थालिएको छ।
मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि नेपालगंज नजीकै रहेको साईंगांव बदैया नाका हुँदै टमाटरको तस्करी र अवैध आयात भने रोकिएको छैन । मुख्य नाकामा खटिएको सुरक्षा निकायले कडाइ गरेर राजस्व छलेर सामान भित्रिन नदिए पनि वरपरका बाटो हुँदै तस्करी भने निरन्तर जारी रहेको छ। नेपालगंज बिपि चोक कर्मोहना हुँदै साईंगांव सम्म पिकअप भ्यानमा टमाटर बोकेर हिँडेको देखिन्छ ।