जनकपुरधाम असार २४ गते ।
बासी भात खान दिएको निहुँमा सौतेनी आमाको हत्या गरेको आरोपमा एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने भारत बिहारको बेतिया नरकटियागञ्ज थाना केयुनियाका २० वर्षीया प्रेम भगत छन् । उनी धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी परिवारसहित बस्दै आएका छन् ।
प्रेमले कान्छी आमा ३९ वर्षीय मीरा देवी भगतको टाउकोमा काठको मुंग्रो बजारेर हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उनका अनुसार शनिबार दिउँसो बासीभात खाने विषयमा विवाद भएको थियो । आवेशमा प्रेमले काठको मुंग्रो पछाडिबाटै सौतेनी आमाको टाउकोमा प्रहार गरेका थिए ।
मीरादेवीको घटनास्थलमै मृत्यु भएपछि उनले घटनालाई ढाकछोप गन शवलाई जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका प्रेमले आफ्ना बुवासँगै बसेर राजमिस्त्रीको काम गर्दै आएका थिए ।‘बासीभात खान्न बरु होटलमा खान्छु’ भनेपछि आमाले बुवाको नाम लिएर तथानाम गाली गरेपछि धक्का दिँदा आमा लडेको र उठेर काठको चिरपटले हान्न खोजेपछि आफूले खोसेर पीठ्यूमा हान्न खोजे पनि टाउकामा लागेको प्रहरीसमक्ष बयानमा स्वीकार गरेका छन् । सौतेनी आमा र छोराको बेला बेला झै-झगडा हुने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरेका युवक र जल्न बाँकी कपडासहितका प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।