बाँके असार ९ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बजेट शनिबार सार्वजनिक गरेको छ । पालिकाको १३ औँ नगरसभाको अधिवेशनमा नगर प्रमुख प्रशान्त बिष्टले आर्थिक वर्ष २०८०/०८१ बजेट प्रस्तुत गर्दै, भौतिक पूर्वाधार निर्माण, व्यवस्थित सहरीकरणका लागि योजनाबद्ध विकासलाई अघि बढाइने बताउनुभयो ।
नगर सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख विष्टले हरित नेपालगञ्ज कार्यक्रमलाई अभियानको रूपमा अघि बढाइने, बताउनुभयो । नेपालगञ्जको ऐतिहासिक कला संस्कृति झल्किने गरी वडा नम्बर २० मा प्रवेशद्धार स्थापना गर्ने नीति लिएको प्रमुख बिष्टले बताउनुभयो ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख कमरुद्दीन राईले भन्नुभयो, ‘कुल आम्दानीको अधिकांश भार सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान हुन् ।’ त्यसले दीर्घकालीन उपलब्धि नहुने भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रूपमा लिई कार्यान्वयन गर्नु अपरिहार्य भइसकेको उहाँले बताउनुभयो ।
चालु आवमा नेपालगञ्जको जम्मा बजेट १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५८७ रुपियाँ अनुमानित बजेट रहेको छ । नगरका २३ वटा वडालाई २५ करोड सिलिङ उपलब्ध गराइएको छ । उनले भन्नुभयो, ‘नीति तथा कार्यक्रमअनुसार बजेट कार्यान्वयन गरिनेछ, बजेटमा नगरवासीको रचनात्मक साथ र सहयोगको अपेक्षा लिएको उपप्रमुख राईले बताउनुभयो ।