नेपालगंज आसार ६ गते।
अतिरिक्त हुलाक खारेजको निणर्य विरुद्ध नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशन बाँकेले आन्दोलन थालेको छ । मंगलबार देखि देशव्यापी रुपमा थालिएको आन्दोलनलाई ससक्त बनाउदै आज पनि विभिन्न अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित भएका छन । लामो समय देखि अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीले सरकारको विरुद्ध जिल्ला हुलाक कार्यालय बाँके अगाडी प्रदर्शन गरेका हुन ।
नेपाल सरकारले मन्त्रिपरिसदको निणर्यबाट अतिरिक्त हुलाक कार्यालय खारेज गरेको थियो । अधिराज्यभरी करिब ११ हजार कर्मचारी रहेका साल २०५५ देखि अतिरिक्त हुलाकमा कार्यरत अस्थायी कर्मचारी नरायण गडेरियाले जानकारी दिए । उनले भने, ‘हामीले अहिले कालोपट्टी बान्धेर शान्तीपूणर् आन्दोलन गरिरहेका छौं ।’
यस बाहेक सरकारलाई दवाव दिन जिल्ला प्रशासन कार्यालय बाँके, मानवअधिकार, सूचना आयोग, विभिन्न राजनितिक पार्टीमा समेत यस कदम विरुद्ध ज्ञापनपत्र बुझाइसकेको गडेरियाले जानकारी गराए । जस पश्चात जिल्ला हुलाक कार्यालय अगाडी धर्ना थालेको उनले बताए ।
यस्तै, राकेश कुमार तिवारीले आफुहरुले आन्दोलन गरेपनि सरकारले केही वास्ता नगरेको बताए । उनले भने, ‘के हामी नेपालको जनता हैनौं ?’ उमेर भइसकेका कर्मचारी यतिबेला कहाँ र के काम गर्दा उपयुक्त होला ? उनले प्रश्न गरे । उनले एउटा सरकारले अतिरिक्त हुलाकको स्थापना गरेपनि अर्को सरकारले खारेज गरेर जनतालाई थप पिडा दिएको जिकिर गरे ।
जिल्लाका ३३ वटा अतिरिक्त कार्यालयका १ सय ५ जना कर्मचारी रहेका थिए । जस मध्ये केहीको मृत्यु भईसकेको छ । अहिले ९५ जना कर्मचारी रहेका छन । यस्तै, बिहीबार नेपालगञ्ज स्थित जिल्ला हुलाक अगाडीबाट प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा कोणसभा गर्ने कार्यक्रम रहेको छ ।
सरकारले अतिरिक्त हुलाकको विषयमा १० गते सम्म सुनुवाई नगरेको खण्डमा जिल्ला हुलाकमा तालाबन्दी गर्ने कार्यसूची रहेको छ । त्यस पश्चात पनि हुलाक अतिरिक्त सेवा पुनः संरचना नगरेमा केन्द्रमा समेत प्रदर्शन गर्ने चेतावनी दिएका छन ।