काठमाडौं जेठ ३० गते।
नेपालस्थित साउदी दूतावास शैक्षिक प्रमाणपत्र अनिवार्यको निर्णयबाट पछि हटेको छ । दूतावासले सोमबारदेखि भिसा जारी गर्नका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । तर, अन्तिममा आएर शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन ।
सोमबार दूतावासमा भिसाका लागि पेश गरिएका निवेदनहरूलाई शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सोमबारदेखि लागू गर्ने भनेको शैक्षिक प्रमाणपत्र नमागेको हो । दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य हुने सूचना जारी गरेपछि चौतर्फी विरोध सुरू भएको थियो ।
चौतर्फी दबाब तथा सरकारको समेत चासो देखिएपछि दूतावास पछि हटेको हो । साउदीको यो नीतिले कामदारमाथि शैक्षिक प्रमाणपत्र जुटाउनुपर्ने झन्झट थपिएको थियो । गत आर्थिक वर्षमा १ लाख २५ हजार २३७ जनाले साउदी अरब जानका लागि श्रम स्वीकृति लिएका थिए ।
साउदी जाने मध्ये अधिकांश अदक्ष कामदार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । खाडी जाने कामदारमध्ये ५७.६ प्रतिशत अदक्ष कामदार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन–२०२२ ले देखाएको छ ।