बाँके जेठ २६ गते ।
नेपालगञ्ज धम्भोझी स्थित रहेको अत्याधुनिक डिजिटल शौचालय त्यँहाबाट हटाउनुपर्ने अवस्थामा पुगेको छ । उपमहानगरपालिकाको धम्बोझी चोक नजिकै रहेको प्रयोगबिहिन डिजिटल शौचालय यति बेला त्यहाँबाट फ्याल्नु पर्ने बताइएको छ । श्रोतका अनुसार अत्याधुनिक डिजिटल शौचालय संचालनमा आएपछिनै धम्भोजी नजिकका स्थानीय र बहिरा बाट आएका यात्रूहरुले प्रयोग गर्न पाएनन तिन महिना भित्र बंद भएको अवस्था रहेको हो ।
तत्कालीन मेयर धवल शम्शेर राणाले संचालनमा ल्याएको उक्त शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण रहेको बताएका थिए । नेपालगञ्जको सन्र्दभमामा डिजिटल शौचालय चुनौतीपूर्ण रहेको थाहा हुदाँ हुदैँ निर्माण गरेपछि यति बेला खण्डहर बनेको छ ।
उक्त प्रयोगविहिन डिजिटल शौचालय अगाडि काडाको बार लगाएर कैद गरेर राखिएको अवस्थामा रहेको नागरिक समाजका अगुवाले बताउँछन ।पश्चिम क्षेत्रकै प्रमुख सहरका रुपमा रहेको नेपालगञ्ज धार्मिक, आर्थिक, औद्योगिक, पर्यटकीय र व्यापार व्यवसायको दृष्टिकोणले महत्वपूर्ण सहर मानिदै आएको छ । यस क्षेत्रकै व्यापारिक एवं शैक्षिक केन्द्रविन्दुको रुपमा रहेको नेपालगञ्जमा टाढा टाढाबाट आगन्तुकहरु आउँछन।
शहरमा प्रयाप्त सार्वजनिक शौचालयको नहुँदा पैदल यात्रुलाई सकस भएको छ । सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्नुपरेको उनीहरु बताउँछन । नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्यालाई अन्त्य गर्ने गरी गरिएको तयारी केही समयमै फेल शौचालयमा भित्र प्रवेशका लागि स्वीच थिचेपछि ढोका खुल्छ, भित्र प्रवेश हुनासाथ सुमधुर संगीत बज्ने, हात थापेपछि साबुन र पानी आफै आउने जस्ता अत्याधुनिक सुविधा भएपनि नेपालगञ्ज उपमहानगरपालिकाको बेवास्ताका कारण प्रयोगविहिन भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई तथा वातावरण ईञ्जिनियर प्रकाश डिसीका अनुसार एसएनभी नेदरल्याण्ड विकास कोषबाट स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत ४६ लाख ३६ हजार रुपैँयाको लागतमा शौचालय निर्माण गरिएको थियो । नाईल खबरलाई उनले जानकारी दिदैँ भने, ‘नेपालगञ्ज उपमहानगरपालिकाको सार्वजनिक शौचालय निर्माण अन्र्तगत एसएनभीलेसहयोगगरेको हो । मुख्य त एसएनभीले पायरेटिङ्गको रुपमा दुई वटा पालिकामा एउटा बिरेन्द्रनगर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकालाई अटोमेटिक पब्लिक ट्वाइलेट परेको हो ।’
उनले भने, ‘निर्माण भइसकेपछि करिब ढेड-दुई वर्ष सम्म चल्यो, सुरुमा एसएनभी आफैले ट्रायलको रुपमा ६ महिना एक वर्ष चलाउनु भयो । उपमहानगरपालिकालाई हस्तान्त्रण गरिसकेपछि छ महिना जति चल्यो।’पायरेटिङ्गको रुपमा यो प्रोजेक्ट ल्याइएको भएकोले सफल हुनपनि सक्छ र असफल पनि हुन सक्ने उनले बताए ।
साधारण शौचालय भन्दा डिजिटल शौचालयमा प्राविधिक समस्याका कारण खर्च बढी आउने भएकोले सोचे जस्तो हुन नसकेको ईञ्जिनियर डिसीले प्रतिक्रिया दिए । उनले डिजिटल शौचालयलाई मुल्यांकनको लागि एसएनभीलाई सहयोगको लागि अहवान गर्ने र नभएको खण्डमा आगामी वर्षमा डिस्मेन्टल (फाल्ने) गर्ने वा रिनोभेसन (नविकरण) गरेर संचालन गर्ने नेपालगञ्ज उपमहानगरपालिकाको बैठकमा छलफल भएको जानकारी गराए ।
डिजिटल शौचालय निर्माण गर्न अघि नै तत्कालीन मेयर राणालाई यो जनतालाई उपभोग गर्न खालको शौचालय नरहेको र यहाँका जनतालाई डिजिटल शौचालय प्रयोग गर्ने बानी नपरेको हुनले साधारण बनाउन सुझाएको भएपनि परिक्षणको लागि डिजिटल बनाएको समाजसेवी गोपाल गिरीले दुखेसो पोखे ।उनले भने, ‘छ महिना भन्ने मात्रै हो यो दुई तीन महिना पनि चलेन । थोरै बजेटले भए पनि दुई वटा महिला र दुई वटा पुरुषको लागि शौचालय छिटो भन्दा छिटो बनाइदिनुपर्यो । एउटा मानव अधिकार भित्र पर्ने चिज हो । ४०-४५ लाख लगानी गरेर डिजिटल शौचालय बनाएर बिनाकामको म्युजियम जस्तो थर्ड क्लासको बनाएर नराखियोस । यस्तो शौचालय राख्नु नेपालगञ्जको बेइजत हो ।’
नेतृत्वको दुरदर्शिता नभएको कारणले गर्दा यस्तो अवस्थामा पुगेको समाजसेवी गिरीले बताए । उनले थप भने, ‘उपमहानगरपालिकाको केही प्रतिशत लगानी लागेको छ । दाताले पैसा दिएको हो । गल्ती उपमहानगरपालिकाको हो । दाताले यस्तो कच्ची बनाउन पक्कैपनि सहयोग गरेन होला । यसको जिम्मा निर्माण गर्ने उपमहानगरपालिकाले जिम्मेवारी लिनुपर्छ।’
उनले थप भने, ‘वातावरण इन्जिनियर विज्ञ भएको मैले ठानेन । उहाँ विज्ञ भइदिएको भए त्यसको स्थिती यस्तो बन्ने नै थिएन । काम गर्ने बेलामा एउटा डिजाइन बनाइसकेपछि एउटा कमिटि हुनुपर्छ । आफै योजना बनाउनु हुन्छ आफै निणर्य गर्नुहुन्छ त्यसले गर्दा दुरदर्शिता नभएकोले उहाँले गलत गरेकै हो ।’
यस्तै नागरिक समाज बाँकेका अध्यक्ष कृष्ण श्रेष्ठले धम्बोझी चोकमा सार्वजनिक शौचालयको समस्या रहेकोले उद्योग वाणिज्य संघ र नागरिक समाजको तर्फबाट उपमहानगरपालिलकालाई दवाव दिइसकेपछि झण्डै ४ वर्ष अगाडी शौचालय निर्माण गरिएको जानकारी दिए । संचालनमा नआउदै अहिले उक्त शौचालय कैद गरिएर राखिएको श्रेष्ठले बताए ।
उनले भने, ‘नयाँ स्थानिय सरकार आइसकेपछि कम्तिमा त्यसको खोज खबर गर्नुपर्ने थियो । नयाँ नेतृत्व आएको एक वर्ष भइसकेपनि पुनः संचालनमा ल्याउन सक्नुभएको छैन । बाहिरबाट आउने आगन्तुकलाई होटलमा शौच गर्न पनि खाजा खानुपर्ने बाध्यता छ । कि त भेरी अस्पताल अगाडि, सरकारी कार्यालयमा जानुपर्यो । त्यसैले यस विषयमा स्थानिय सरकारको ठूलो चासो बनाउन जरुरी छ ।’
डिजिटल शौचालय जिणर् अवस्थामा पुग्नुको पछि जिम्मेवार उपमहानगरपालिका नै रहेको श्रेष्ठले दावी गरे । दातृ निकायले दिएको रकम दुरुपयोग भएको उनले बताए । उनले भने, ‘पटक पटक दातृ निकायले किन सहयोग गर्ने, आज एउटा सार्वजनिक शौचालय बनाउन नसक्ने हो र उपमहानगरपालिका ? करोडौको बजेट राखेर आफैले बनाउन नसकेपनि दातृ निकायले सहयोग गरेको संरचना संरक्षण गर्नुपर्छ कि पर्दैन ? न्यूरोड, सदरलाईन, कारकादोमा पनि सार्वजनिक शौचालयको आवस्यकता रहेको उपमहानगरपालिकाको यसै मञ्चबाट ध्यानाकर्षण गराउन चाहन्छु ।’
घुम्ती शौचालय अहिले कहाँ र कुन अवस्थामा छन ?
एसियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु. ५९ लाखको लागतमा खरिद गरेर चार वटा घुम्ती शौचालय ल्याएको थियो । तर यति बेला शहरमा सार्वजनीक शौचालयको समस्या उस्तै छ । चार वटै घुम्ती शौचालय आजभोलि उपयोगविहीन भएका छन् । मुस्किलले ३-४ महिना चोकमा देखिएका घुम्ती शौचालय आजभोलि पार्टी, मेला महोत्सव लगायतका कार्यक्रममा मात्र प्रयोग हुने गरेका ईञ्जिनियर डिसीले नाईल खबरलाई जानकारी दिए ।
घुम्ती शौचालयमा शौच गर्न ग्राहकहरू नै नआएको र राख्ने स्थान नपाउदा प्रयोगविहिन भएको उनले बताए । खुला शौचको समस्या हटाउने उद्देश्यले ल्याइएका चार वटा घुम्ती शौचालय बीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, त्रिभुवन चोक लगायतका स्थानमा राख्ने गरिएको थियो ।तर केही वर्ष यता डिजिटल शौचालय, घुम्ती शौचालय बारे कोही कसैले चासो नदेखाएपछि मिडियाको फलोअफ पश्चात उपमहानगर समेत सक्रिय भएको छ । यति बेला सार्वजनिक शौचालयको विषयमा चासो देखाउदै उपमहानगरले दातृ निकाय एसएनभी नेदरल्याण्ड विकासलाई पत्राचार गर्दै प्रतिक्रिया मागेको छ ।
शौचालयको व्यापक आलोचना भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले दाता कम्पिनीलाई पत्रचार गर्दै एक हप्ता भित्र उक्त शौचालयलाई भत्काउँने वा नेपालगञ्जवासीलाई पायक पर्नेगरी सोही शौचालयलाई साधारण रुपमा निर्माण गर्ने विषयमा अनुमति मागिएको मेयर प्रशान्त विष्टले जानकारी दिए ।उनले भने, ‘हामी यसमा गम्भिर छौं । हाम्रो आगामी कदमपुर्व सहयोगी दाता संग अनुमति आवश्यक रहेको हुदाँ एक हप्ताभित्र प्रतिक्रिया दिन हामीले पत्रचार गरिसकेका छौं । उहाँहरुको जवाफ अनुसार हामी आगामी ठोस कदम बढाउछौं । यसको बजेटको लागि उपमहागरपालिकाको मिटिङ्गमो छलफल समेत भइसकेको छ ।’
बजेटको सत्यानास
दातृ निकायले सहयोग गरेको बजेटको सत्यानास भएको स्थानीयले दुखेसो पोखेका छन । छ महिना समेत राम्रो संग संचालनमा नआएको उक्त शौचालय प्रयोगमा नआउदा बजेटको सत्यानास गरेको ३० वर्ष देखि ठेलामा व्यवसायी गर्दै आएका घरवारीटोलका राजकुमार शाहुले बताए ।
यस अघि डिजिटल शौचालय खण्डहरमा परिणत हुँदा समेत उपमहानगरपालिकाले त्यसको संरक्षण र सञ्चालनमा कुनै चासो देखाएको थिएन । बिगत लामो समयदेखि नै सार्वजनिक शौचालय ब्यवस्थापनको विषयमा आलोचना खेप्दै आएको नेपालगञ्ज उपमहानगरपालिका सार्वजनिक शौचालयको अभावलाई ब्यवस्थापन गर्न बिभिन्न महत्वकाँक्षी योजनाका साथ अगाडि बढेपनि दीर्घकालीन योजनाको अभावका कारण सफल भने हुन सकेको छैन ।भएपछि पहिलाको बाध्यता अहिले पनि उस्तै छ । नेपालगञ्जको अत्याधिक गर्मी अनि मुख्य चोकहरूमा सार्वजनिक शौचालय नभएपछि सास्ती खेप्नुपरेको बुझिएको छ । यहाँका मुख्य चोकहरूमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । दिन मात्र होइन राती पनि चोकहरुमा चहलपहल नै हुन्छ ।