नेपालगंज जेठ २५ गते।
चालु आर्थिक वर्षको १० महिनामा बाँके जमुनहा नाकाबाट पेट्रोलियम पदार्थ, चिनी, चामल, आलुलगायत विभिन्न वस्तुको आयात घटेको छ ।
पछिल्लो समय मुलुकमा देखिएको आर्थिक संकटका कारण विकास निर्माणलगायत उद्योगधन्दा पूर्णरूपमा सञ्चालन नहुँदा पेट्रोलियम पदार्थको आयात पनि घटेको नेपालगन्ज भन्सार कार्यलयको तथ्याङ्कले देखाएको छ ।
नेपालगंज भन्सार कार्यालयका अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज जमुनहा नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको पेट्रोलियम पदार्थ आयात घटेको छ ।
भन्सार कार्यालयका अनुसार वैशाखसम्म गत वर्षको भन्दा ६३ करोड २४ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास आयात घटेको छ भने गत आर्थिक वर्षको भन्दा करिब एक अर्ब २७ करोड तीन लाख ४३ हजार रुपैयाँ कम राजस्व संकलन भएको छ ।