काठमाडौं,जेठ,१४,गते।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनामा संलग्न रेशम चौधरीसमेत ४८२ जनाको कैद सजाय माफी गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् ।
आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२ को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।
रेशम चौधरी २०७२ साल भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।उनलाई तीनै तहको अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।