बाँके,जेठ ४ गते ।
मुस्लिम जर्नलिस्ट क्लबले विहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमकाविच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी हुनुभएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो ।
मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान ,डा. डक्ट प्रसाद धिताल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, डा। सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गा.पा अध्यक्ष ईश्तियाक अहमद शाह र पुर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान बाट सम्मानित गरिएको हो।
उक्त कार्यक्रममा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सम्मानित हुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा उहाँले बाँकेमा निर्वाचित भएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभयो। सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बानो मिना सिद्दिकी, नेपालगञ्जका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर पालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह लगायतका विजयी जनप्रतिनिधिहरु थिए ।
सो अवसरमा बोल्दै पुर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासंगै चेतना बृद्धि गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनितिक विचारधारा अलग अलग भएपनि समुदायको उत्थान र भलाईका लागि सबैले एकजुट हुनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार समाजसेबी राजनितिज्ञ व्यक्तित्व मुस्लिम अगुवा स्थानीय मुस्लिम जनपतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।