मंसूर अली इद्रिशी
बाँके,जेठ,४,गते-नेपालगंज वडा नम्बर १७ परसपुरमा राष्ट्रिय परिचय पत्रका लागि स्थानीय तहबाटै विवरण संकलन अभियान सुरु भएको छ । जिल्ला प्रशासन बांकेबाट वडास्तरीय शिविर आयोजना गरी विवरण लिने काम सुरु भएको हो । अभियान अन्तर्गत पहिलो दिन साबिकको ९ न.वडाबाट बिहीबारदेखि शिविर सुरु भएको हो।
उक्त शिविर एक महिना अर्थात् आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने र शिविर अवधिमा छुटेका नागरिकले जिल्ला प्रशासन कार्यालय बांकेमा परिचयपत्रका लागि विवरण दर्ता गर्न सक्ने वडा कार्यालयका पाचों तहका अधिक्रत हेमन्त सावदले बताए । परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम, थर, जन्ममिति, लिंग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँलाछाप (१०वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।
नागरिकका सम्पूर्ण व्यक्तिगत तथा जैविक विवरण समेटिएको एकीकृत राष्ट्रिय परिचय तथा सूचना प्रणालीको व्यवस्थापन गर्नका लागि नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र दर्ता कार्यलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियानका रूपमा सञ्चालन गर्दै आइरहेको छ ।
उक्त अभियान सञ्चालन भएसँगै अहिले १७ न.परसपुर को वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता गर्ने नागरिकको भीड बढेको वडा सचिव उपमन्यु तिर्पाठीले जानकारी दिए । उनले भने सर्वसाधारणको सहजताका लागी साबिक को वडालाई टार्गेट गरी टोकनको माध्यमबाट राष्ट्रिय परिचयपत्र दर्ताकार्य थालिएको हो । राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी पहिलो दिन साबीक को वडा न.९ बाट अभियान सुरु गरिएको वडा अध्यक्ष लक्ष्मण प्रसाद वर्माले बताए।
जिल्लाका स्थानिय तहहरुमा सुरु भएको अभियान तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । सरकारले पछिल्लो समय सबै नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाले अभियानका क्रममा स्थानीय तहअन्तर्गत वडा टोलमै शिविर आयोजना गरीएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।
विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न सकिने विभागले जनाएको छ । जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको कम्तीमा १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने भएको छ ।
सङ्कलन गरिएका नागरिकका विवरण निर्वाचन प्रयोजनका लागि र मतदाता नामावली र परिचयपत्रलाई मतदाता परिचयपत्रको रुपमा प्रयोग गर्न सकिने बनाउने तयारी भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताए ।