काठमाडौं, जेठ,२,गते।
सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई जन्मकैदको सजायलाइ सदर गरेको छ । कैलालीको टीकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरेको हो ।
अदालतले टीकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ । यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा वहस भएको थियो । प्रतिवादी चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाइ पाउनुपर्ने भन्दै सर्वोच्चमा वहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाइ दिनुपर्ने माग गरिएको थियो ।
जवाफी वहसमा सरकारी वकिलका तर्फबाट टिकापुर घटनाका योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको जिकिर गरिएको थियो । यसका साथै अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको वहस गरिएको थियो । टिकापुरमा भएको थरुहट आन्दोलनको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी तथा एक बालकको निधन भएको थियो ।