काठमाडौं,बैशाख,१९गते।
वीर अस्पतालकी नर्स मृत फेला परेको घटनामा प्रहरीले उनका प्रेमी भनिएका चिकित्सक (डाक्टर) लाई पक्राउ गरेको छ। विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनको परिवारले प्रेमी ढकाल र बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए ।
प्रहरी वृत्त बालाजुका एक प्रहरी अधिकारीले आवश्यक अनुसन्धान गरी मुद्दा प्रक्रिया अगाडि बढाइने बताए । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय श्रेष्ठले शनिवार प्रेमी सुजन ढकालको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन् ।
मृतक श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी ढकाल र उनका बुवाले विवाहका लागि अस्वीकार गरेका थिए । पेशाले अनुमा स्टाफ नर्स हुन् भने ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे।
सिर्जनाका अनुसार अनुमाको सोह्रखुट्टेमा कोठा थियो भने सुजनको घर बालाजु बोहोराटारमा रहेको थियो। अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटक पटक आग्रह गर्दा पनि केटा पक्षले अस्वीकार गरेको बताइएको छ ।
अनुमाको शवसँगै भेटिएको ‘सुसाइड डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समेत समावेश गरेकी थिइन् । भन्दै उनले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका थिए।