काठमाडौं,बैशाख,१९गते।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८,९३० बमोजिम सांसद कोइरीलाई निलम्बन गरेका हुन् । प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले सूचना टाँस गरी सांसद कोइरीलाई निलम्बन गरिएको जनाएको छ ।
महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी सशस्त्र प्रहरी थमन विक हत्याका अभियुक्त हुन् । उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामै राख्न आदेश भएको थियो । सो आदेशपछि भने उनी फरार छन् ।
सभामुख घिमिरेले गत १५ वैशाखमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद कोइरीले अस्वस्थ रहेको पत्र पठाएको जानकारी गराएका थिए । तर, सत्तापक्षका सांसदहरूले विरोध जनाएपछि सभामुख घिमिरेले नयाँ अधिवेशनमा कानुन बमोजिम गर्ने प्रतिबद्धता जनाएका थिए ।