नेपालगंज,वैशाख,१६,गते।
पूर्व राष्ट्रिय फुटबल खेलाडी विवेक जंग शाह (एमबीई) लाई बाँके जिल्ला फुटबल संघले नेपालगंजमा सम्मान गरेको छ । शुक्रबार नेपालगञ्जमा नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रबिन्द्र श्रेष्ठ लगायतले शाहलाई सम्मान गरेका थिए ।
नेपालगन्जबाट फुटबल करियर सुरु गरेका शाहले २०५४ सालमा नेपालको यु–१६ फुटबल टिम, नेपालगन्ज–११ टिम र अन्य विभिन्न क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । शाह अहिले ब्रिटिस आर्मीमा क्याप्टेनका रुपमा कार्यरत छन् । शाहले भारतको बहराइचमा भएको स्टेट स्तरको फुटबल प्रतियोगितामा निर्णायक गोल गर्दै नेपालगन्ज–११ लाई उपाधि दिलाएका थिए । नेपालगन्ज उप–महानगरपालिका–०४ देवाफुलबारीका शाहले सन् २००१ मा भएको तत्कालिन राजा विरेन्द्रको शुभजन्मोत्सवमा हुने बर्थडे कपमा नेपालगन्ज को तर्फबाट जावलाखेल फुटबल क्लबलाई हराएर क्वारटरफाइनलमा पुग्दा निर्णायक गोल गरेका थिए ।
फुटबल करियरमा बाँके जिल्लाको प्रतिष्ठालाई बढाउने काम गरेकोले यस क्षेत्रका लागि विवेक प्रतिष्ठित व्यक्ति भएको एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले बताए । उनले भने,‘विवेक बाँके जिल्लाको फुटबल इतिहासमा एउटा उदाहरणीय खेलाडी हुन् । उनले बेलायतमा गएर पनि आफनो देश र जिल्लालाई गर्व हुने सफलता हासिल गरेका छन् ।
नेपालगन्जमा आउँदा फुटबल संघका पदाधिकारीहरूसँग भेट्न पाउँदा खुसी लागेको शाहले बताए । उनले भने,‘यो न्यानो आतिथ्य र सम्मानका लागि बाँके जिल्ला फुटबल सङ्घलाई धन्यवाद दिन चाहन्छु । फुटबल मलाई मन पर्ने खेल हो । यसको विकासका लागि म सक्दो सहयोग गर्छु । विशेष गरी नयाँ बालबालिकालाई फुटबल खेल्न प्रेरित गर्नु पर्छ । यस्तो अभियानमा संघले योजना बनाएको कुरा थाहा पाउँदा खुसी लाग्यो । फुटबलको विकासमा सबैको सहकार्य र समन्वय आवश्यक छ ।
बाँके जिल्ला फुटबल संघले चौथो नेपालगन्ज गोल्ड कप र बालबालिकाहरूको लागि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ । त्यसमा शाहले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सम्मान कार्यक्रममा ब्रिटिस आर्मी समिर मल्ल, बाँके जिल्ला फुटबल संघका सदस्य ईश्वर चन्द लगाएतको उपस्थिती रहेको थियो ।