मंसूर अली इद्रिशी
नेपालगंज,बैशाख,९,गते-इस्लाम धर्मावलम्बी रमादान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी आज ईद उल फित्र (ईद) मनाउँदै छन् । इदुलफित्र मनाउनका लागि आज मुस्लिम समुदायले ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।
हिजरी सम्बत् १४४४को रमजान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौब्बाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
रमजान महिनामा मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । ईद पर्वमा अल्लाह का नाममा विशेष नमाज (प्रार्थना} गर्ने इस्लामिक परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेबईको खिर,बिरयानी र मिष्ठान्न परिकार खाने चलन छ।
यस पर्वमा स्थानीय ईदगाह र मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा रहेको छ। ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि आफ्नो कमाइको केही २.५० प्रतिशत दान गर्ने परम्परा छ ।