मंसूर अली इद्रिशी
बाँके,बैशाख,१,गते-नेपालगंज उपमहानगरपालिका वडा नंबर-१७ का कमालुद्दीन बागवानले चैत १८ गते प्रतिक्विन्टल ४ हजार रुपैयाँका दरले स्थानीय गल्ला व्यापारीलाई गहुँ बिक्री गरे । कमालुद्दीनले बिक्री गर्दासम्म अन्य कृषकहरू गहुँ थ्रेसिङमा व्यस्त थिए । चैत २५ यता भने व्यापारीले एकाएक गहुँको भाउ मूल्य घटाए। थ्रेसिङ गरिसकेका किसानले गहुँ बिक्री गर्न खोज्दा मुस्किलले प्रतिक्विन्टल ३ हजार ७ सय रुपैयाँ पाए ।
जानकी गाऊपालिका-१ का स्थानीय किसान नसरुद्दीन खांले दुई चार दिनको अवधिमा गहुँको भाउ निकै घटाइँदा आफूहरूलाई निकै मर्का भएको सुनाए । उनले भने, ‘किसानहरुको पीडा कहिले बुझ्छ सरकारले किसानको गहुँ नभित्रिँदासम्म ४५ सयमा बिक्री हुने, जब किसानको गहुँ भित्रियो, भाउ घटाएर ३७ सयमा झारिन्छ।
नेपालगंज उपमहानगरपालिका-१४ कै अर्का किसान साकिर राईले किसानप्रति राज्यको उदासीनताका कारण किसानले घाटामा खेतीपाती गर्दै आएको सुनाए । उनले भने, ‘डिजल महँगो, मल महँगो, जोताइ महँगो, , सिँचाइ गर्दा पानी महँगो, घास मार्ने विषादी महँगो, गरिब किसानले लिने ऋण महँगो, किनेर खानेले किन्दा गहुँ महँगो । तर किसानले आफ्नो गहुँ बेच्नु पर्दा २ दिनअघि ४५ सय र २ दिनपछिको रेट ३७ सयमा झरिसकेछ । किसानलाई सरकारले मार्ने भए ।
स्थानीय गल्ला व्यापारीहरु ले गहुँ फरक–फरक दर रेटमा खरिद गर्दै आएका छन् । किसानको गहुँ गल्लामा आउन थालेपछि खरिददर घटाउँदा किसानहरू मारमा परेका हुन् । तर सरकारले नै सस्तो मूल्य तोकिदिँदा स्थानीय गल्ला व्यापारीहरूलाई बल पुगेको छ । उनीहरूले सरकारले निर्धारण गरेको दररेट भन्दा महँगोमा गहुँ खरिद गर्दै आएको व्यापारीले बताएका छन् । सरकारले गहुँ खरीददर रेट प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ स्थानीय गल्ला व्यापारीले बताए।