एजेन्सी,चैत,३०,गते।
इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । चेन्नईको चिदमबरम स्टेडियममा भएको खेलमा राजस्थानले ३ रनको जित निकालेको हो। चेन्नईको भने यो दोस्रो हार हो । आफ्नो चौथो खेलमा राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।
उसका लागि डेभन कन्वेले ३८ बलमा ६ चौकासहित ५० रन बनाए । त्यस्तै, कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा तीन छक्का र एक चौकासहित अविजित ३२ रन बनाए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । १५ बलमा दुई छक्का र एक चौकासहित रवीन्द्र जडेजा २५ रनमा अविजित रहे । अजिंक्य रहाणेले ३१ रन बनाउँदा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । राजस्थानका लागि रविचन्द्रन आश्विन, युजवेन्द्र चहलले दुई र दुई तथा एडम जम्पा र सन्दीप शर्माले एकरएक विकेट लिए ।
त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनायो । उसका लागि ओपनर जोस बटलरले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले तीन छक्का र एक चौकाको मद्दतमा ५२ रन बनाए । देवदत्त पाडिक्कलले ३८, रविचन्द्रन आश्विनले ३० र यशस्वी जैसवालले १० रन जोडे । शिमरोन हेटमायरले १८ बलमा २ छक्का र २ चौकासहित ३० रनको इनिङ खेले ।
चेन्नईका लागि रवीन्द्र जडेजा, तुषार देशपाण्डेले दुईरदुई, आकाश सिंह र मोइन अलीले एकरएक विकेट लिए । यो जितपछि अंकका साथ राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गत संस्करण उपविजेता राजस्थानले चार म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । राजस्थानले जारी प्रतियोगितामा सनराइजर्स हैदराबादलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा पञ्जाब किंग्ससँग ५ रनले हारेको राजस्थानले तेस्रो म्याचमा भने दिल्ली क्यापिटल्सविरुद्ध ५७ रनको फराकिलो जित निकाल्यो ।