महोत्तरी,चैत,२९,गते-महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नंबर ६ का २१ वर्षीय मुबारक नदाफलाई पोलमा बाँधेर मोसो दल्ने ठेकेदार आनन्द मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मुबारक नदाफमाथि दुर्व्यवहार भएको हो । स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण भनिने आन्नद भूसन मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी नायब उपरिक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन समेत गरिदिएका छन् ।
प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरिसकेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको महोत्तरीका प्रहरी नायब उपरिक्षक गिरीले बताए । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ । मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ ।
पीडित परिवारका अनुसार रमजान मनाउन नदाफले निर्माण व्यवसायी कृष्ण भनिने आन्नद भूसन मिश्रसँग काम गरेको ज्याला माग गरेका थिए । पटक–पटक ज्याला माग्दा पनि नदिएपछि उनले काम गर्दैगर्दाको औजार घर लगेका थिए । औजार लिएर आउनू पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर ठेकेदार मिश्रले नदाफलाई चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कृष्ण भनिने आन्नद भूसन मिश्र विरूद्ध किटानी जाहेरी समेत दिएका छन् ।