बिरगंज,चैत,२४,गते-पर्साको मुख्य भन्सार नाका र भन्सार पछाडिबाट अहिले ठूलो तस्करीको लाइन खुलेको छ । सुरक्षाकर्मीको संरक्षण र सेटिङमा ठूलो तस्करी चलिरहेको सूचना दिदा पनि तस्करीको सामान बरामद नगर्नु र विभिन्न बाहना बनाएर पन्छनुले प्रष्ट पारेको छ । अपराधमा पुष्टि भएपछि जेल बसेर करिब आठ महिना अघि छुटेका इनर्वा गाउँका शत्रुधन यादवलाई अहिले सुरक्षाकर्मीले ठूलो तस्करीको लाइन दिएका हुन । जेलबाट छुटेपछि यादवले सुरक्षाकर्मीलाई मिलाएर ठूलो तस्करी सन्जाल चलाई रहेका छन् ।
राति १० देखि ११ बजेको समयमा अटो देखि पिमअप गाडीमा नै यादवले तस्करीको सामान कपडा ल्याउने गरेका छन् । सुरक्षाकर्मीको संरक्षण र सेटिङमा तस्करी गर्ने मिलाए पछि सामान बरामद हुने डर र त्रास पनि भएन । त्यसैले पनि शत्रुधन यादवले खुलेयाम तस्करीको कपडा नेपाल भित्र्याउने गर्दै आइरहेका छन् । यसरी तस्करी गरेको सामान इनर्वा गाउँका नरेश दास र आलम भन्नेको घरमा भण्डारण गर्ने काम हुदै आएको छ ।
रातभरि तस्करी गरि ल्याएको कपडा भोलिपल्ट १०÷ ११ बजेको समयमा पसल पसलमा डेलिभरि गर्ने काम हुदै आएको छ । खुलेयाम यसरी दैनिक लाखौं लाखको सामान तस्करी भएर राज्यलाई ठूलो राजश्वको नोक्सानी भैरहेको छ। आर्थिक रूपमा देश धरासायी हुन लागिरहेको समाचारहरू सार्वजनिक भई रहेका छन् ।तर चोरी तस्करीको नियन्त्रणको प्रमुख जिम्मेवारी राज्यबाट पाएको सशस्त्र प्रहरी भने बिरगंज भन्सारमा तस्करीको सेटिङ चलाई रहेको छ ।
तस्करीमा सीमावर्ती क्षेत्रमा रहेका मुख्य नाका र भन्सारका बिओपीमा कार्यरत निरीक्षकहरूले तस्करसंग मिलेर तस्करी चलाएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालयले त्यस्ता बिओपीमा डिएसपी पठाउने निर्णय गरि परिचालन गरेको भए पनि तस्करी नियन्त्रण होइन झन् बढेको छ।
बिरगंज भन्सारको हकमा तपाईंहरूको संरक्षणमा तस्करी भैरहेको र सशस्त्र प्रहरीको अगाडिबाट तस्करीको सामान गएको बिषयमा भन्सारका डिएसपी रामजंग पाण्डेलाई प्रश्न गर्दा उनले आफू मिटिङमा भएको भन्दै सई ज्ञान आलेको नम्बर दिए । सई आलेलाई पनि तस्करी भैरहेको जानकारी गराउदा उनी सूचना दिएको आधा घण्टामा त्यस ठाउँमा पुगे । जबकि उनी भन्सार भित्रै थिए । भन्सार अगाडिबाट नै तस्करी भैरहेको जानकारी दिइएको थियो । यसबाट सुरक्षाकर्मीको सेटिङ र संरक्षणमा तस्करी भैरहेको प्रष्ट हुन्छ ।
साभार-नव जनप्रहारबाट