मंसूर अली
बाँके,चेत,१७,गते-आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आजको परीक्षा ११ बजे सकिनेछ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न गरेको थियो । परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन ७८ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यो वर्ष परीक्षा दिनका लागि ४ लाख ८४ हजार २२७ जनाले फाराम भरेका छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको उनको भनाई छ ।
प्रदेश र जिल्ला स्तरमा समितिहरू गठन गरिएका छन् । प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्नेछन् ।
त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ । उक्त समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्न पत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तर पुस्तिका परीक्षा केन्द्रसम्म पुर्याउने र आवश्यक समन्वय गर्ने लगायतका काम गरेका छन् ।
परीक्षा नियन्त्रक श्रेष्ठले परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाउने बताए । परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइनेछ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर, परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको उनको भनाई छ ।
विद्यार्थीलाई कुनै डर त्रास नलिई ढुक्क भएर परीक्षा दिन उनले आग्रह गरे । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुनै गलत गतिविधि भएका प्रचलित कानुन अनुसार कारबाही हुने उनको भनाई छ ।