दुर्गेस जयसवाल
नेपालगंज,चैत,१५,गते-प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजनको घुइँचो लाग्ने गर्छ ।
बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा पूजाआजाको लागि श्रद्धालु भक्तजन बिहान ४ बजेदेखिनै लाइनमा लाग्ने गरेका छन् । मन्दिरमा सहजरुपमा दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले जानकारी दिए ।
नेपाल र भारतको सीमाक्षेत्रमा रहेको सो बागेश्वरी मन्दिर परिसरमा हरेक वर्ष चैतेदशैँको अवसर पारेर हुने नौ दिनसम्म पूजाआजा हुने परम्परा छ । पूजा गर्न दैनिक दशौँ हजारको सङ्ख्यामा नेपाली र भारतीय भक्तजन आउने गरेका छन् । भक्तजनलाई व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।