काठमाडौं,चैत,१,गते।
राष्ट्रपति कार्यालयले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरेको छ। दुवै गालामा रहेको कोठीसमेत गायब हुने गरी इडिट गरिएको फोटो अपलोड गरिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचनाको विषय बनाइएको थियो।
वास्तविक पहिचान नै मेटिने गरी फोटोसपबाट टल्काएर अपलोड गरिएको फोटो राष्ट्रपतिको कार्यालयले दुई दिनमा हटाएको हो । अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ । यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो । साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो ।
राष्ट्रपतिको तस्बिर प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न सरकारी कार्यालयहरूमा समेत झुण्ड्याउने प्रचलन रहेको छ । यसअघि राष्ट्रपति विद्या भण्डारीको तस्बिर टाँग्ने गरिएका थिए भने अब उनको स्थान पौडेलले लिनेछन् ।