सप्तरी,फगुन,२७,गते।
सप्तरीको सदरमुकाम राजविराजमा रक्सी खाएर हाेहल्ला गर्ने प्रहरी जवान कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले रक्सी सेवन गरी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि हंगामा गरेका हुन् । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
हातमा डण्टा लिएर यताउत्ता दौडिरहेको प्रष्टै देखिन्छ । स्थानीयका अनुसार आज साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर सडकमा सवारी चेकजाँच गर्न थालेका थिए । त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए। त्यसपछि उनले सर्ट फुकालेर सडकमै बडी देखाइरहेको देखिन्छ ।
भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई कारबाही गरेको हो। सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गरिएको जानकारी दिनुभयो ।