काठमाडौँ,फागुन १४ गते ।
वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ। असम्बन्धित व्यक्तिको प्रवेशमा कडाइ गर्ने उद्देश्यले परिचयपत्र देखाएर मात्रै विभागमा प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको विभागले बताएको छ ।
विगत केही दिनदेखि विभागमा नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नाममा कानुन, विधि र प्रक्रिया विपरीतका कार्य गर्दै आउने गरेको भन्दै विभागले कडाइ गरेको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।
अमर्यादित भाषा प्रयोग गरी काम गर्ने कर्मचारीलाई काम गर्ने वातावरण प्रभावित पार्ने क्रियाकलाप बढ्दै गएको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कुनै गुनासो भए कानुनी प्रकृयाअनुसार लिएर आउन विभागले आग्रह गरेको छ। अहिलेको निर्णयले सेवाग्राहीलाई केही असहज भएपनि बाध्य भएर यस्तो कदम चालिएको विभागले जनाएको छ ।