काठमाडौं,फागुन,१० गते।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन भन्दै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई नेताहरुले भेट्ने तयारी गरेका छन् ।लोसपाका शिर्ष नेताहरुले बुधबार देउवालाई भेट्ने र ठाकुरलाई राष्ट्रपतिको प्रस्ताव गर्ने तयारी गरेका हुन् ।
बुधबार बिहान ९ बजे कांग्रेस सभापति देउवालाई भेट्ने समय तय भएको लोसपा नेताहरुले बताएका छन् ।लोसपाले महन्थलाई राष्ट्रपतिको प्रस्ताव गर्दै मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरिसकेको छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार अब राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्ने समय ४ दिन मात्रै छ । तर अझै राष्ट्रपतिको उम्मेदवार को भन्ने विषय सत्ता गठबन्धन र विपक्षी दलहरुले टुङ्याउन सकेका छैनन् ।निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ ।
फागुन १३ गतेसम्ममा उम्मेदवार मनोनयन गरिसक्नु पर्ने छ । अझ यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले समेत चलखेल सुरु गरिसकेकाले थप पेचिलो बनेको छ । राष्ट्रपति पदको चुनावमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने अडानमा छन् ।