काठमाडौँ,फागुन् ५ गते।
निर्वाचन आयोगको निर्णयअनुसार जरिवानामा परेका स्थानीय तहका उम्मेदवारले अब जरिवाना तिर्नु नपर्ने राष्ट्रपतिद्वारा माफी मिनाहा भएको छ । समयमा खर्च विवरण नबुझाउने स्थानीय तहको निर्वाचनका उम्मेदवारलाई जरिबाना तिराउन निर्वाचन आयोगले गरेकोनिर्णय उल्टिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सबै उम्मेदवारको जरिबाना माफी मिनाहा गर्ने निर्णय लिएसँगै आयोगको निर्णय उल्टिएको हो । यससँगै गत वैशाख ३० को स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने कुनै पनि उम्मेदवारले जरिबाना तिर्न नपर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिले जरिबाना मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि खर्च विवरण नबुझाएको भन्दै आयोगले १ लाख २३ हजार ६ सय ५० जना उम्मेदवारलाई कारबाही स्वरूप १ लाख ५० हजार देखि ७ लाख ५० हजारसम्म जरिबाना गर्ने निर्णय गरेको थियो ।